– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाली सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लामो समयसम्म नेतृत्वविहीन थियो। गत माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त गरेको छ।
सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिद प्रकरणमा चन्द्रसिंह साउदले गत भदौ ८ गते नेप्सेको सीईओ पदबाट राजीनामा दिएका थिए। साउदको राजीनामापछि झन्डै साढे ५ महिनापछि मात्र नेप्सेले नयाँ सीईओ पाएको छ।
सरकारले नेप्सेमा गरेको सीईओको नियुक्तिमा भने सेयर बजारका अग्रज लगानीकर्ताहरुले असुन्तष्टि व्यक्त गरेका छन्। उनीहरुले नेप्सेको सीईओ पदमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गरिएको आरोप लगाएका छन्।
सीईओको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आकांक्षी ११ जनाबाट ५ जनालाई सर्टलिस्ट गरेको थियो। समितिको सर्टलिस्टमा कृष्णबहादुर कार्की, डा.केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा रमेशकुमार भण्डारी नाम परेको थियो। ती ५ जनाबाट पुस २६ मा समितिले सीईओ पदका लागि कृष्णबहादुर कार्की, डा.केशवप्रसाद श्रेष्ठ र डा.रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्को बैठकले तिनै ३ जनाबाट नेप्सेको सीईओमा कार्की नियुक्त गरेको हो। निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त भएका कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका प्रमुख छन्। आयोजनाबाट उनले राजीनामा दिने बताएका छन्।
कार्कीले सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। सरकारले उनलाई ४ वर्षका लागि नेप्सेको सीईओ नियुक्त गरेका छन्।
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले बजार सुधार र विस्तार हुन नदिनलाई नेप्सेमा अवकाश प्राप्त व्यक्तिको नियुक्ति गरिएको भन्दै असन्तुष्ट व्यक्त गरे। ‘डेट एक्सपायर्ड कर्मचारीको काम गराइ कस्तो हुन्छ भन्ने अहिले सीडीएससीको अवस्था हेरे हुन्छ’, उनले भने, ‘हामीले बारम्बार योग्य व्यक्तिको नियुक्ति हुनुपर्छ भनेर आवाज उठाउँदै आएका थियौँ। सरकारले सीईओ नियुक्तिका लागि ५ महिना बढी समय लगाउँदा राम्रो व्यक्तिको खोजी भइरहेको छ भन्ने हाम्रो बुझाइ थियो। तर, सरकारले राम्रोभन्दा पनि हाम्रो (सरकारको) व्यक्तिको नियुक्ति गरेको छ।’
सरकारी संयन्त्र र यस्तो प्रवृत्तिले बजारको हित नहुने बास्तोला बताउँछन्। ‘यस्तो प्रवृत्ति हाबी हुने भएकाले नै हामीले बारम्बार नेप्सेलाई निजीकरण गर्नुपर्छ भनेर आवाज उठाइरहेका हौँ’, उनले भने।
नवनियुक्त सीईओलाई शुभकामना दिँदै बास्तोलाले भने, ‘उहाँलाई शुभकामना छ। विगतको सीईओजस्तै इन्साइडर ट्रेडिङ साथै बजारको हितमा काम नगरी जसले नियुक्ति गर्यो उसको हितमा काम गरेको खण्डमा हामी आमलगानीकर्ता खबरदारी गर्ने नै छौँ।’
सेयर बजारका सक्रिय लगानीकर्ता केशव कोइराला (काका) कार्कीको नेप्सेमा काम हेरेर मूल्यांकन हुने बताउँछन्। ‘सरकारले सेबोन, नेप्से, सीडीएससीलगायत अन्य संस्थाहरुको नेतृत्वका लागि अवकाश कर्मचारीबाहेक अरू देखेको छैन’, उनले भने, ‘योग्य अन्य आवेदकहरु हुँदाहुँदै राजनीतिक चलखेल भएर तिनै व्यक्तिहरुको नियुक्ति हुन्छ।’
सीडीएससीको सीईओको नियुक्तिमा पनि योग्य आकांक्षीहरु हुँदाहुँदै त्यस्तै भएको कोइराला बताउँछन्। ‘अवकाश प्राप्त सचिवहरुको कार्यदक्षता हामीले देखेको छैन र?’, प्रश्न गर्दै उनले भने, ‘नेप्सेमा नै कार्यरत भएका निरञ्जन फुयाँल, प्रविन पन्दाकलगायत अन्य अनुभवीहरुको नियुक्ति भएको भए नयाँ जोश र जाँगरले केही हुने अपेक्षा हुन्थ्यो। तर, पुँजी बजारको अनुभव नै नभएको रिटायर्ड कर्मचारीबाट भने त्यति धेरै अपेक्षा गर्ने ठाउँ छैन।’
‘कार्कीको योग्यता र क्षमता आउने दिनहरुमा मूल्यांकन हुन्छ। बजार सुधार र विस्तारका कार्यहरु अगाडि बढाएमा ताली पिटौँला नत्र सामाजिक सञ्जालमा विरोध गरौँला’, कोइरालाले भने, ‘अरु हामी आमलगानीकर्ताले के नै गर्न सक्छौँ र?’
‘नेप्सेको सीईओको कुर्सी माओवादीको र सेबोनको कांग्रेसको हो भन्ने पहिला नै थाहा थियो’, एक वित्तीय जानकार भन्छन्, ‘तर, नेपाल सरकारले अब तिम्रो काम गर्ने होइन आराम गर्ने बेला हो भनेर अवकाश दिएको व्यक्तिको नियुक्तिमा कतिको सही वा गलत छ भन्ने चाहिँ स्वयं वित्तीय जानकारहरुले बुझ्नु पर्छ। कार्कीले नेप्सेमा नाम कमाएर जान्छन् कि गुमाएर जान्छन् भन्ने आउने दिनहरु र उनको कार्यले बताउनेछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago