काठमाण्डौ । साताको पहिलो दिन पहिरो गएको पूँजीबजार सोमबार भने यूटर्न भई दोहोरो अंकको बढोत्तरीको रफ्तारमा कुदेको छ । 

अघिल्लो साता सबै कारोबार दिन र आइतबार समेत बजार परिसूचक ओरालो लागेको थियो । लगातारको ओरालो यात्रा सोमबार क्रमभंग भई दोहोरो अंकको वृद्धि हासिल गर्दै माथि कुदेको हो । सबै समूहको सूचक बढ्दा बजारमा हरियो रंगको उमङ्ग छाएको छ । 

सोमबार नेप्से इण्डेक्स २६.४६ अंकले उक्लिएर १७५७.१० अंकको उचाईमा  पुगेको हो । 

यो दिन सबैभन्दा बढी वाणिज्य बैंकहरुले कारोबार गरेका छन् । यो समूहको मात्रै ६६ करोड ५९ लाख बराबरको सेयर किनबेच भयो । वाणिज्य बैंक समूहको इण्डेक्स ३१.७६ अंकले उक्लियो । हराभरा भएको बजारमा बिमा समूह ८७.२ अंकले बढ्यो भने होटल, जलविद्युत, विकास बैंक र बित्त समूहमा क्रमशः ५४.१६, २१.७३, १८.२ र ८.१४ अंकको बढोत्तरी भयो । अन्य समूह ९.५४ अंकले बढ्यो । 

‘क’ वर्गको बैंक तथा  कम्पनीको कारोबार उच्च भएका कारण सेन्सेटिभ इण्डेक्स पनि ५.९२ अंकल बढ्यो । फ्लोट इण्डेक्समा १.९ अंकको बढोत्तरी देखियो । 

सोमबार बैंक तथा बित्तीय कम्पनीको सेयरले पूरा बजारलाई लिड गर्यो । वाणिज्य बंैक, विकास बैंक र बित्त कम्पनीको कुल ७८ करोड भन्दा बढीको कारोबार भयो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार सबैभन्दा बढी एभरेष्ट बैंकको २२ करोड ७७ लाखको सेयर किनबेच भयो । एनबी बैंकको १० करोड ४७ लाखको सेयर कारोबार भयो भने सिद्धार्थ बैंकको ५ करोड ३३ लाख, शिखर इन्स्योरेन्सको ४ करोड ७६ लाख, एशियन लाइफ इन्स्योरेन्सको ४ करोड ४८ लाख भन्दा बढीको प्रोमोटर सेयर किनबेच भयो । सनराइज बैंकले ४ करोड १९ लाखको कारोबार गर्दा, सानिमा बैंकको  २ करोड ९७ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको २ करोड ३० लाख, एनएमबी बैंकको २ करोड ९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७ लाख बराबरको सेयर कारोबार भयो । 

धेरै कमाउने र गुमाउने
सोमबार सबैभन्दा न्याग्दी ग्रुप पावर लिमीटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । राप्तिभेरी विकास बैंक, आइएलएफसीओ माइक्रो फाइनान्स, एभरेष्ट बैंकको कन्भर्टेबल सेयरको मूल्य समेत ६ प्रतिशत भन्दा बढीले बढ्यो । 

सोमबार सबैभन्दा बढी पोखरा फाइनान्सका लगानीकर्ताले गुमाउनुपर्यो । यो कम्पनीको सेयर मूल्य ५.३६ प्रतिशतले घट्यो । फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, नमस्ते बित्तीय संस्था, मितेरी डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटल, गुड्विल फाइनान्स, कृषि विकास बैंक लगायतका कम्पनीको सेयर मूल्यमा पनि ३ देखि ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।