काठमाण्डौ । मौद्रिक नीतिको प्रतिक्षा र  मार्जिन कलको आतंकका कारण बजारमा आइतबार पनि दोहोरो अंकको पहिरो गएको छ । अब चाहि बजारमा केही सुधार होला कि भन्ने कतिपय लगानीकर्ताको आशामाथि आइतबारको बजारले चिसोपानी खन्याइदिएको हो । 

यो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ भने कारोबार रकम पनि अघिल्लो बिहीबारको तुलनामा घटेको छ । यसरी बजारको परिसूचक र कारोबार रकम समानान्तर ढंगले घट्नु बजारको भविष्यका लागि सुखद संकेत होइन । 

यो दिन बजार मापक नेप्से परिसूचक १४.०१ अंकले घटेर  ११८४.५३ विन्दूमा सीमित हुन पुगेको छ । यो दिन ‘क’ वर्गका कम्पनीहरुका बिक्री चाप देखिएको छ, जसका कारण सेन्सेटिभ इण्डेक्स २.९७ अंकले घटेको छ भने फ्लोट इण्डेक्समा १.०९ अंकको गिरावट आएको छ । 

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतिएको छ । बैंकिङ समूह १२.१४ अंकले घटेको छ भने बिमा, विकास बैंक, माइक्रोफाइनान्स र बित्त समूहमा क्रमशः ८९.०३, २०.१४, २५.७४ र ६.१६ अंकले घटेका छन् । होटल समूह १८.६४ अंकले घटेको छ भने जलविद्युत समूह १५.७, उत्पादनमूलक ६.९९ र अन्य समूह ३.४६ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ६ लाख १९ हजार ७ सय ४१ कित्ता सेयर १९ करोड ७२ लाख ६२ हजार ६ सय ११ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नेपाल बैंकले ८० लाख बढीको कारोबार गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले ७५ लाख बढीको कारोबार गरेको बजारमा नवील बैंकको ७२ लाख बढीको संस्थापक सेयर समेत किनबेच  भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ६३ लाखको हाराहारीमा कारोबार गरेको बजारमा नेपाल टेलिकमले ६१ लाख, कुमारी बैंकले ५७ लाख, नेपाल एसबीआई बैंकले ५१ लख, नेपाल लाइफ इन्स्योरेन्सले ४९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, यो दिन तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.७१ प्रतिशतले तल झर्यो । यस्तै, हाथ्वे फाइनान्सको मूल्य ५.५९ र रैराङ हाइड्रोपावरको मूल्य ५.१९ प्रतिशतले घट्यो ।