काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३.९२ अंकले घटेर ११७८.५० को विन्दूमा सीमित बन्न पुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने झण्डै ११ करोडले वृद्धि भएको छ । 

बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने बढ्नुले आत्तिइहाल्नुपर्ने अवस्था छैन भन्ने देखाउँछ । तर, बिहीबार कारोबार रकम बढाउन एनएमबी बैंक र एनएलजी इन्स्योरेन्सले विशेष भूमिका खेलेका छन् । 

यो दिन विकास बैंक समूहमा ०.१८ अंकको वृद्धि देखियो भने अन्य समूह ५.०७ अंकले बढ्यो । बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

यो दिन बैंकिङ समूह ३.५३ अंकले घट्यो भने जीवन बिमा समूह ३८.६४ अंक, निर्जीवन बिमा समूह २७.५५ अंक र माइक्रोफाइनान्स समूह ४.४१ अंकले घटे । होटल समूहमा २.३६ अंकको गिरावट भएको यो दिन जलविद्युत समूह १४.६२ अंक, बित्त समूह ०.०७ अंक, उत्पादनमूलक ५४.६७ अंकले घटे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३१ अंकको गिरावट देखियो। 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका १० लाख २० हजार ५ सय ९५ कित्ता सेयर २७ करोड ७३ लाख ८ हजार २ सय ६६ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी एनएमबी बैंकले ४ करोड ९५ लाख बढीको कारोबार गर्यो । एनएलजी इन्स्योरेन्सले ३ करोड १० लाख बढीको कारोबार गरेको यो दिन जनता बैंक नेपालले १ करोड ६ लाख, नेपाल लाइफ इन्स्योेरेन्सले ८६ लाख, एनआइसी एशिया बैंकले ७७ लाख, मेगा बैंकले ७४ लाख बढीको कारोबार गरे । इन्भेष्टमेन्ट बैंकको ७० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एशियन लाइफ इन्स्योरेन्सले ६१ लाख, ग्लोबल आइएमई बैंकले ५४ लाख र नेपाल बैंकले ५१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
१२ प्रतिशत प्रतिफल वितरणको घोषणा गरेको एनआइबिएल समृद्धि फण्ड १ ले यो दिन सबैभन्दा धेरै कमायो । यो स्किमको इकाई मूल्य ६.०९ प्रतिशतले वृद्धि भयो । लक्ष्मी भ्यालू फण्ड १ को मूल्य समेत ४.४६ प्रतिशतले बढ्यो । 

यो दिन युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।