काठमाण्डौ । बजारमा बिक्री चाप बढेको छ । दशैंको पूर्वसन्ध्यामा बिक्री चाप बढ्दा बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । 

बजारमा परिसूचक र कारोबार रकम समानान्तर ढंगले तल झर्नु भविष्यका लागि राम्रो संकेत होइन । यो प्रवृति बजारमा केही दिनसम्म निरन्तर रहिरहे ठूलै गिरावट आउनसक्ने विज्ञहरु दाबी गर्छन् । तर, बुधबार एकदिनको यो प्रवृतिलाई हेरेर मात्रै अब ठूलै गिरावट आउन लागेको छ भनियो भने त्यो जायज हुँदैन । 

बजारमा सक्रिय लगानीकर्ता र कारोबारीहरुलाई दशैं लागेको देखिएको छ । सेयर बेचेर दशैंखर्च जोहो गर्ने सर्टटर्म कारोबारीको हतार, त्रैमासमा बुझाउनुपर्ने ब्याजको दवाब लगायतका कारणले समेत बजारमा बिक्री चाप बढेको देखिएको छ । 

बुधबार नेप्से परिसूचक १०.७६ अंकले घटेर १२३०.६० को विन्दूमा समेटिन पुग्यो । यो दिन ‘क’ वर्गका कम्पनीहरुमा उच्च बिक्री चाप देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स २.३९ अंकले घटेको  छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.८५ अंकको गिरावट आएको छ । 

यो दिन व्यापार समूहमा ४.२२ अंक र होटल समूहमा ५.५६ अंकको बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

बैंकिङ समूह १०.१२ अंकले घटेको यो दिन विकास बैंक समूहमा ११.५२ अंक, निर्जीवन बिमा समूहमा ५१.३८, जीवन बिमा समूहमा ३७.४५ अंक, माइक्रोफाइनान्स समूहमा ९.७५ अंक, जलविद्युत समूहमा १५.१६ अंक, बित्त समूहमा ३.३३, उत्पादनमूलकमा ६.५२ र अन्य समूहमा ८.७५ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका १४ लाख ३६ हजार ५ सय १२ कित्ता सेयर ३७ करोड ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी एनएमबी बैंकले २ करोड ६२ लाख बढीको कारोबार गर्यो । एनआइसी एशियाले २ करोड ५२ लाख, माछापुच्छे बैंकले १ करोड ८५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ७६ लाख, प्रभू बैंकले १ करोड ४१ लाख, नेपाल बैंकले १ करोड २९ लाख, कुमारी बैंकले १ करोड २३ लाख, ग्लोबल आइएमई बैंकले १ करोड १४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १० लाख र कृषि विकास बैंकले ९९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि नाडेप लघुवित्तका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । समता माइक्रोफाइनान्सका लगानीकर्ताको सम्पत्ति समेत ७.३१ प्रतिशतले वृद्धि भयो । 

यो दिन नेपाल हाइड्रो डेभलपर्स लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ५.४४ प्रतिशतको गिरावट आयो । मेरो माइक्रोफाइनान्सको मूल्यमा समेत ५.०७ प्रतिशतको गिरावट आयो ।