काठमाण्डौ । दशैं खर्च, बैंकको त्रैमासिक ब्याज भुक्तानी, अग्रिम आयकरको भुक्तानी, बैंकको बढ्दो ब्याजदर लगायतका कारणले सेयर बजार निरन्तरजसो घट्न थालेको छ ।
साना लगानीकर्ता बजारमा थोरै प्रोफिट राखेर भए पनि सेयर बिक्री गरी दशैं खर्चको जोहोमा लाग्दा, ठूला लगानीकर्ता बैंकको त्रैमासिक ब्याज भुक्तानीको दवाबमा पर्दा र समग्र लगानीकर्ता बैंकको बढ्दो ब्याजदरको त्रासमा पर्दा बजार दैनिकजसो ओरालो लाग्न थालेको हो ।
अघिल्लो साताका अधिकांश दिन लगानीकर्तालाई निराश बनाएको बजारले यो साताको पहिलो कारोबार दिन आइतबार समेत उत्साहित बनाउन सकेन ।
माथि उल्लेख गरिएका विविध कारणले यो दिन पनि बजार दोहोरो अंकले घट्यो भने अघिल्लो साताको अन्तिम कारोबार दिनको भन्दा कारोबार रकम समेत घट्न पुग्यो ।
बजारमा परिसूचक र कारोबार रकम समानान्तर ढंगले घट्न थाल्यो भने त्यसलाई राम्रो संकेत मानिँदैन । आइतबार देखिएको यो प्रवृति आगामी दिनमा समेत देखियो भने लगानीकर्ता निकै सतर्क रहनुपर्छ ।
विश्लेषकहरुले बजारमा दशैं लागेका कारण बिक्री चाप बढेको र खरीद चाप घटेको दाबी गरेका छन् । दशैंको मुखमा ब्याज समेत बुझाउनुपर्ने र यही बेला बैंकहरुले समेत ब्याजदर बढाउन थालेपछि बजारलाई चौतर्फी दवाब परेको उनीहरुको भनाई छ ।
आइतबार नेप्से परिसूचक १३.०१ अंकले घटेर १२१४.३६ को विन्दूमा सीमित हुन पुग्यो । यो दिन कारोबार रकम पनि घटेर ४० करोडमा सीमित बन्न पुग्यो ।
यो दिन ‘क’ वर्गका कम्पनीमा उच्च बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.७१ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा समेत १.०३ अंकको गिरावट देखियो ।
यो दिन उत्पादनमूलक समूहमा २.५९ र अन्य समूहमा ०.९२ अंकको झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचक राताम्मे भए ।
बैंकिङ समूह १३.५२ अंकले बढेको यो दिन विकास बैंक समूह २१.२२ अंक, जीवन बिमा समूह ५४.२९ अंक, निर्जीवन बिमा समूह १०२.२५ अंक, माइक्रोफाइनान्स समूह १८.८६ अंक,जलविद्युत समूह २.८३ अंक, बित्त समूह ५.८८ अंक, होटल समूह ३७.२२ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका १३ लाख ३७ हजार ५ सय २६ कित्ता सेयर ४० करोड ७५ लाख १ हजार ४ सय ८१ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योेरेन्सले २ करोड ६ लाख बढीको कारोबार गर्यो । २ करोड २ लाख बढीको कारोबार नेपाल बैंकले गरेको यो दिन एनएमबी बैंकले २ करोड १ लाख, सोल्टी होटलले १ करोड ६९ लाख, एनआइसी एशियाले १ करोड ६५ लाख बढीको कारोबार गरे ।
प्राइम लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सिभिल बैंकले १ करोड १० लाख, माछापुच्छे बैंकले १ करोड ४ लाख, नेपाल टेलिकमले ९३ लाख र ग्लोबल आइएमई बैंकले ९२ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि नाडेप लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यो दिन नेशनल हाइडोपावर कम्पनी लिमीटेडका लगानीकर्ताले पनि ४ प्रतिशतको हाराहारीमा कमाए ।
नगद लाभांश वितरणमा मात्रै जोड दिएको लक्ष्मी लघुवित्त वित्तीय संस्थाप्रति लगानीकर्ताले आक्रोश पोखेका देखियो । फलस्वरुप, यो कम्पनीको सेयर मूल्यमा तीव्र गिरावट आयो । लगानीकर्ताले नगद लाभांश घोषणा भएकै दिन कम्पनीको सेयरबाट १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउन पुगे ।
भार्गव विकास बैंकका लगानीकर्ताले समेत ६ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाउन पुगे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19