काठमाण्डौ । बुधबार नेप्से परिसूचकमा ३.५२ अंकको सुधार भएको छ । नेप्से सामान्य बढी ११८४.६१ को विन्दूमा फर्किएको यो दिन कारोबार रकम भने घटेर ४१ करोडमा सीमित बन्न पुगेको छ । 

यो दिन जलविद्युत समूह ५.४३ अंकले घटे पनि बाँकी सबै समूहको सूचक हराभरा भएको छ । 

बैंकिङ समूह २.९६ अंकले बढेको यो दिन होटल समूहमा ०.२२ अंक, विकास बैंक समूहमा ३.४१ अंक, बित्त समूहमा ३.१७ अंक, निर्जीवन बिमा समूहमा २४.२३ अंक, जीवन बिमा समूहमा १२.५९ अंक, माइक्रोफाइनान्समा २.३६ अंक, उत्पादनमूलक समूहमा ३.०८ अंक र अन्य समूहमा ६.७३ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता सेयर ४१ करोड ४ लाख ९४ हजार ६३२ रुपैयाँमा किनबेच भयो। 

सबैभन्दा बढी कुमारी बैंक लिमीटेडले ५ करोड ७२ लाख बढीको कारोबार गर्यो । यो बैंकले २ आर्थिक वर्षको साधारणसभा एकसाथ आह्वान गरी बुक क्लोज मिति समेत तोकेपछि घोषित लाभांश आफ्नो पोल्टामा पार्र्ने उद्देश्यले बैंकको सेयरमा खरीद चाप देखियो । 

यो दिन एनआइसी एशिया बैंकले २ करोड ९० लाख बढीको कारोबार गर्यो भने एनएमबी बैंकले २ करोड ५२ लाख, नेशनल लाइफले १ करोड १६ लाख, एनसीसी बैंकले १ करोड १२ लाख, प्रभू बैंकले १ करोड ११ लाख, सेञ्चुरी बैंकले १ करोड ९ लाख, नेपाल बैंकले १ करोड ६ लाख बढीको कारोबार गरे । 

मुक्तिनाथ विकास बैंकको १ करोड २ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा अपर तामाकोशीले ९४ लाख बढीको कारोबार गर्यो। 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि अघिल्लो दिनमा झै नेपाल कम्युनिटी डेभपलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ५.०७ प्रतिशतले बढ्न पुग्यो । 

यस्तै, यो दिन उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ५.५५ प्रतिशतको गिरावट आयो ।