काठमाण्डौ । आज एकैदिन तीन कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। 

नेप्सेमा इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको हो। कुनै पनि कम्पनीको आईपीओमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएकोले यी तीनै कम्पनीको सेयर भोलि बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन्। 

नेप्सेमा इस्र्टन हाइड्रोपावरको कुल ६२ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, सर्वसाधारणको ६ लाख २० हजार र स्थानीयको ६ लाख २० हजार कित्ता छन्। 

यो कम्पनीलाई नेप्सेले ‘ईएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ७२.३३ रुपैयाँदेखि अधिकतममा २१६.९९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यसैगरी नेप्सेमा पिपुल्स हाइड्रोपावरको कुल ३ करोड ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ४० लाख कित्ता, सर्वसाधारणको ४८ लाख कित्ता र स्थानीयको ३२ लाख कित्ता छन्। 

यो कम्पनीलाई नेप्सेले ‘पीएचसीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

त्यस्तै नेप्सेमा श्रृजनशील लघुवित्तको कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७ लाख कित्ता र  सर्वसाधारणको ९ लाख ९३ हजार ७५० कित्ता छन्। 

यो लघुवित्तलाई नेप्सेले ‘एसएचएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ३०२ रुपैयाँदेखि अधिकतममा ९०६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

भोलि स्पेसल प्रि–ओपन सेसन यी तीनै कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।