काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३ खर्ब रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिसम्म कुल २ खर्ब ९९ अर्ब १ करोड रुपैयाँबराबरको थप धितोपत्र नेप्सेमा सूचीकृत भएको छ। 

यो ११ महिनाको अवधिमा १ खर्ब ७६ अर्ब १० करोड रुपैयाँबराबरको साधारण सेयर, ४५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँबराबरको डिबेन्चर, ३९ अर्ब ९ करोड रुपैयाँबराबरको बोनस सेयर, ५ अर्ब ४९ करोड रुपैयाँबराबरको म्युचुअल फन्ड र ४ अर्ब १३ करोड रुपैयाँबराबर हकप्रद सेयर सूचीकृत भएका छन्। 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुल ४१ अर्ब ७७ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । जसमा ११ अर्ब ६० करोड रुपैयाँबराबरको डिबेन्चर, १४ अर्ब १५ करोड रुपैयाँबराबरको म्युचुअल फन्ड, १३ अर्ब ५ करोड रुपैयाँबराबरको साधारण सेयर र २ अर्ब ९८ करोड रुपैयाँबराबरको हकप्रद सेयर छन्।