काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले गत आर्थिक वर्षका लागि एक्सेल डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १७.१० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। नेप्सेले मूल्य समायोजन गर्दै यो बैंकको प्रतिकित्ता सेयर ३२० रुपैयाँ कायम गरेको छ। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफा रकममध्ये चुक्तापुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको १७.१० प्रतिशतले हुने आउने ११ करोड ८४ लाख ४७ हजार २४९.७२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। त्यस्तै बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.९० प्रतिशतले हुन आउने ६२ लाख ३४ हजार ६५.७८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश बैंकले यही चैत २० गते डाकेको वार्षिक साधारणसभाबाट पारित हुनेछ। 

सभामा बोनस सेयर वितरणपछि कायम हुने आउने चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित हुनेछ।

यसअघि बैंकको १३ औँ वार्षिक साधारणसभाले पनि चुक्तापुँजीको ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। तर हकप्रद निष्कासन गर्न बाँकी रहेको थियो।

साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले चैत ७ गतेदेखि २० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत ६ गतेभित्र कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।