काठमाण्डौ । सोमबार उछाल आएको पूँजीबजार परिसूचकमा मंगलबार पनि वृद्धि भएको छ । यो दिन २.४४ अंकले नेप्से परिसूचक वृद्धि भई १४३७.२४ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि बढेको छ । विश्लेषकहरुले बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि हुँदै जानुलाई भविष्यका लागि ‘शुुभ संकेत’को रुपमा बुुझ्छन् । लामो समयदेखि दैनिकजसो दोहोरो अंकले घटेको बजार सोमबारदेखि बढ्न थालेको हो । 

तरलता समस्या समाधानका लागि नियामक नेपाल राष्ट्रबैंक, अर्थ मन्त्रालय, बैंकर तथा लगानीकर्ताहरुले पहल थालेपछि यसले बजारमा सकारात्मक प्रभाव छाडेको हो । 

मंगलबार ३ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचकमा रातो पोतिएको छ । 

बैकिङ समूह १०.१३ अंकले वृद्धि भएको छ भने व्यापारिक समूह ०.०८ अंक तथा अन्य समूह ४.३४ अंकले बढेको छ । 

यस्तै, होटल समूह ५१.५८ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह ४.०६ अंक, जलविद्युत समूह २८.६१ अंक, बित्त समूह २.५८ अंक, बिमा समूह ६१.३४ अंक, उत्पादनमूलक ५.८६ अंक र माइक्रोफाइनान्स समूह ८.२६ अंकले घटे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.१४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.०८ अंकको वृद्धि देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका १२ लाख ६२ हजार ४ सय १७ कित्ता सेयर ६३ करोड ३२ लाख २२ हजार ४ सय १२ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ करोड ५२ लाख बढीको कारोबार गर्यो । यस्तै, प्रभूू बैंकले ३ करोड ७४ लाख, एभरेष्ट बैंकले २ करोड ७४ लाख, नवील बैंकले २ करोड ६४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ४८ लाख, कृषि विकास बैंकले २ करोड ३६ लाख बढीको कारोबार गरे । यस्तै, सानिमा माई हाइडोले २ करोड १६ लाख, नेपाल टेलिकमले १ करोड ५२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी मिसन डेभलपमेन्ट बैंकले कमायो । यो कम्पनीको सेयर मूल्य ७.४१ प्रतिशतले वृद्धि भयो । यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको मूल्यमा समेत ७.२६ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन एभरेष्ट बैंकको कन्भरटिवल प्रिफरेन्स सेयरको मूल्य सबैभन्दा धेरै घट्यो । यसको मूल्यमा ७ प्रतिशतको हाराहारीमा ओरालो लाग्यो ।