काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धेरै वर्षदेखि वार्षिक साधारणसभा नगर्ने र त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको सूची माग गरेको छ। 

धितोपत्र बोर्डले नेप्सेसँग त्यस्ता कम्पनीहरुका सूची माग गरेको हो। साथै, बोर्डले त्यस्ता कम्पनीको धितोपत्र कारोबारमा रोक लगाउन पनि नेप्सेलाई निर्देशन दिएको छ। 

नेप्सेका सीईओ चन्द्रसिंह साउदले धितोपत्र बोर्डबाट धेरै वर्षदेखि वार्षिक साधारणसभा नगर्ने र त्रैमास वित्तीय विवरण पनि सार्वजनिक नगर्ने सूचीकृत कम्पनीको सूची माग गरेको बताए। ‘अहिले नेप्सेको सूचीकरण विभागले अध्ययन गरी त्यस्ता कम्पनीहरुका सूची तयार गर्ने काम गरिरहेको छ।’

नेप्सेका एक अधिकारीका अनुसार त्यस्ता कम्पनीहरुको सूची तयार गरी आगामी साता बोर्डमा पठाउने तयारी भइरहेको छ। 

त्यसो त हालै नेप्सेले पनि लामो समयदेखि वार्षिक साधारणसभा नगरेका र वित्तीय प्रतिवेदनसमेत पेस नगरेका बिशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार रोक्का गरिसकेको छ।

धितोपत्र बजार सूचनाको बजार हो। सूचीकृत कम्पनीका गतिविधि प्रदर्शन हुने आधार भनेको वित्तीय प्रतिवेदन र वार्षिक साधारणसभा नै हो। 

संस्थागत सुशासन र पारदर्शिताका लागि वित्तीय प्रतिवेदन सार्वजनिक गर्नु अति नै आवश्यक हुन्छ। कम्पनीको समग्र गतिविधि र पारदर्शिता झल्किने वित्तीय प्रतिवेदनले आमलगानीकर्ताहरुको लगानी सुरक्षित हुने गर्छ।

कम्पनीको यथार्थ अवस्था र बजार स्वच्छ राख्नसमेत धितोपत्र बोर्डको यो पहलकदमी निकै सरहानीय र स्वागत योग्य रहेको लगानीकर्ताहरु बताउँछन्।