काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट आज (कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ। नेप्सेको पुराना वेबसाइट भने बन्द गरिएको छ। 

नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा ल्याउनकै लागि नेप्सेले गत कात्तिक ६ गते सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन र युजर आईडी अनिवार्य रुपमा लिन सूचित गरेको थियो।कात्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक गरिने नेप्से स्पष्ट पारेको थियो। 

नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आइसक्दा अझै केही कम्पनीहरुले नट्सको लगइन र युजर आईडी नलिएको नेप्सेकै एक अधिकारीले बताए। ‘नेप्से सूचना जारी गरी पटक–पटक नट्सको लगइन र युजर आईडी लिन ताकेता गर्दा पनि केही कम्पनीहरुले अटेर गर्दै बसिरहेका छन्’, ती अधिकारीले भने, ‘यसले गर्दा ती कम्पनीहरुको सूचना नयाँ वेबसाइटमा पनि नआउने र पुरानोमा पनि हाल्न नमिल्ने अवस्था सिर्जना भएको छ। उनीहरुले अटेरीपनले आमलगानीकर्ताहरुले महत्वपूर्ण सूचना र जानकारीबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ।’

ती अधिकारीका अनुसार विशेषगरी लघुवित्त र जलविद्युत समूहका कम्पनीहरुले नट्सको लगइन र युजर आईडी लिएका छैनन्। ‘वाणिज्य बैंक, विकास बैंकलगायतका अन्य कम्पनीहरुले नट्सको लगइन र युजर आईडी लिइसकेका छन्’, ती अधिकारीले भने, ‘लघुवित्त र जलविद्युत कम्पनीहरु भने अटेर गरेर बसिरहेका छन्। यसले गर्दा उनीहरुकै महत्वपूर्ण सूचना र विवरण आमलगानीकर्ताले थाहा नपाउने स्थिति बनेको छ।’

सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगइन र युजर आईडी अनिवार्य रहेको पनि नेप्सेले स्पष्ट पारेको छ। 

कात्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने नेप्सेले जनाएको छ। पुरानो वेबसाइटअन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज भएको पनि नेप्सेको भनाइ छ। 

सूचीकृत कम्पनीहरुले सूचना तथा जानकारी तोकिएको समयसीमाभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधानअनुसार कारबाही हुने नेप्सेले जनाएको छ।