काठमाण्डौ । आज नेप्से परिसूचकले ऐतिहासिक उचाइ चुमेको दिन बजार पुँजीकरणसमेत बढेर ३० खर्ब रुपैयाँ नाघेको छ।

साताको पहिलो दिन आज आइतबार सेयर कारोबार मापन गर्ने सूचक नेप्सेमा ४१.२४ विन्दुले बढेर २२३५.७२ विन्द् कायम गर्दा कुल बजार पुँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड रुपैयाँ नाघेको छ। यो हालसम्मकै सर्वाधिक बजार पुँजीकरण हो।

अघिल्लो साता कुल बजार पुँजीकरण २९ खर्ब सेरोफेरोमा रहेको थियो। अघिल्लो साताको बिहीबार भने बजार पुँजीकरण २९ खर्ब ५५ अर्ब ८६ करोड रुपैयाँ रहेकोमा आज पुँजीकरण बढेर ३० खर्ब रुपैयाँ नाघेको छ।

पछिल्लो समयमा नेप्सेमा नयाँ–नयाँ कम्पनीका सेयर र भारी परिमाणका सेयर सूचीकृत हुने क्रम बढेसँगै बजार पुँजीकरण पनि क्रमशः बढिरहेको देखिन्छ। बढ्दो बजारमा सूचक उकालो लाग्ने र नेप्सेमा नयाँ कम्पनी सूचीकरण हुने क्रम जारी रहेकाले समेत बजार पुँजीकरणको रकम बढ्ने बताइएको छ।