– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सर्वसाधारणका लागि २० प्रतिशत आईपीओ जारी गर्न अध्ययन प्रक्रिया अघि बढाएको छ। 

नेप्सेले चालु आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो। केही साताअघि नेप्सेले एउटा कन्सल्टेन्ट कम्पनीलाई नेप्सेको सेयर संरचना परिवर्तनका साथै सर्वसाधारणका लागि आईपीओ जारी गर्न अध्ययनको जिम्मा दिएको नेप्सेका एक उच्च अधिकारीले बताए। ‘अहिले उक्त कन्सल्टेन्ट कम्पनीले नेप्सेको सेयर संरचना कसरी परिवर्तन गर्ने, आईपीओ निष्कासनको सम्भावित मोडालिटी, कहिले आईपीओ निष्कासन गर्नेलगायतको अध्ययन गरिरहेको छ’, ती अधिकारीले भने, ‘सम्भवतः उक्त अध्ययनको निष्कर्ष दसैँअघि नै आउँछ।’

‘सीआईटी, एनटीसीलगायतमा अहिले आमसर्वसाधारणको पनि लगानी छ। त्यस्तै नेप्सेमा पनि सर्वसाधारणले किन लगानी गर्न नपाउने ?’, प्रश्न गर्दै ती अधिकारीले भने, ‘अहिले नेप्सेको प्रारम्भिक योजना २० प्रतिशत आईपीओ सर्वसाधारणलाई बिक्री गर्ने रहेको छ। बाँकी सेयर हिस्सामा कर्मचारी, नेपाल सरकार, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थालगायतको स्वामित्व हुनेछ। अध्ययनको निष्कर्ष आएपछि दसैँलगत्तै आईपीओ निष्कासनको आवश्यक अन्य प्रक्रियाअघि बढ्छ।’

चालु आर्थिक वर्षको बजेटमा पनि १ अर्ब रुपैयाँभन्दा बढी पुँजी र ५ अर्ब रुपैयाँभन्दा बढी रुपैयाँ कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिने भनेर उल्लेख छ। ‘उक्त व्यवस्थाअनुरुप नै नेप्सेले आईपीओ निष्कासनका लागि प्रारम्भिक प्रक्रिया अघि बढाएको हो’, उनले भने।