काठमाण्डौ । लाभांश घोषणाको नाममा सर्वसाधारण लगानीकर्तालाई ठगी गरेको नागबेली लघुवि त्त वित्तीय संस्था लिमीटेडलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले स्पष्टीकरण सोधेको छ । 
 
सूचिकरण शाखाका सहायक कामु प्रबन्धक सुबोध ढुंगेलले २ वटा संचालक समितिको फरक फरक मितिमा भएको निर्णयमा घोषित लाभांश दर फरक पर्न गएको र पहिला भन्दा पछि गरिएको घोषणामा लाभांश दर घटेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
 
नागबेलीको २०७५ कात्तिक २६ गते बसेको संचालक समितिको १५२ आंै बैठकलाई उद्धृत गर्दै १६.११ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश(बोनस सेयरको कर प्रयोजनका लागि) दिने निर्णय गरेको थियो । तर, पुस ९ गते बसेको संचालक समितिले सो लाभांश दर परिवर्तन गर्दै ९.३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश दिने निर्णय गर्यो । 
 
यसबाट लगानीकर्ताको लगानीमाथि र सेयरको मूल्य संवेदनशीलतामाथि नागबेलीबाट खेल्ने काम भएको बिषयमा बिजशालाले सोमबार समाचार प्रकाशन गरेको थियो । 
 
तिनै आधारहरुलाई टेकेर नेप्सेले के कति कारणले निर्णयमा फरक पर्न गएको हो, सो सम्बन्धमा कम्पनीका जिम्मेवार पदाधिकारीको के भनाई छ भनी सोधेको छ । ‘साथै कम्पनी लगायत पदाधिकारीलाई विद्यमान नियम कानून अनुसार कारबाही किन नगर्ने ?’–नेप्सेले स्पष्टीकरण पत्रमा भनेको छ । 
 
यस्तै प्रकृतिको घटनामा नेप्सेले आवश्यक कारबाहीका लागि मञ्जुश्री फाइनान्समाथि कारबाही गर्न भन्दै धितोपत्र बोर्डलाई लेखी पठाएको छ । बोर्डले एकदुई दिनमै मञ्जुश्रीमाथि आवश्यक कारबाही गर्ने बताइएको छ ।