काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ। 

नेप्सेले भोलि असार २० गतेदेखि लागू हुने गरी धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। मर्जर प्रयोजनका लागि नेप्सेले ती दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। 

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पूरा भोलि असार २० गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्। मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। 

गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको थियो। यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।

यी दुवैबीच गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। गत पुस १७ गते नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो।
मर्जरपश्चात संस्थाको केन्द्रीय कार्यालय बागलुङको बागलुङ नगरपालिका–२ बागलुङमा रहनेछ।