काठमाण्डौ । करिब २ वर्षपछि नेप्सेमा एकाएक उछाल आएपछि लगानीकर्तामा खुशियाली छाएको छ । 

बजार बुम हुँदै गर्दा विभिन्न ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुमा खुशियाली छाएको देखिएको हो । 

लामो समयदेखि बजार निरन्तर घटेका कारण प्यानिक बनेका लगानीकर्ताहरुको मुहारमा औंशीपछिको जून उदाएजस्तो देखिएको थियो । केही लगानीकर्ताले नेप्से परिसूचकले आजदेखि सुरु गरेको यात्रालाई सांकेतिक रुपमा ‘पट्यारलाग्दो कालो रातको अन्त्य भई बिहानी छाएको’ रुपमा समेत विश्लेषण गरे । 

कतिपय ब्रोकर हाउसको डिस्प्ले रुममा भेटिएका लगानीकर्ता खुशीले चिच्याइरहेका भेटिन्थे भने कतिपयमा उफ्रिदै गरेका भेटिन्थे। 

लगानीकर्ताहरुले लामो समयदेखि राष्ट्रबैंकले लिएको गलत नीतिका कारण आफूहरु प्यानिक बन्नु परेको गुनासो समेत पोख्न भ्याए । ढिलै भए पनि राष्ट्रबैंकले मौद्रिक नीति केही खुकुलो बनाउँदै बैंक ब्याजदर घट्ने र सेयर धितोकर्जा केही सहज हुने अवस्था बनाएपछि त्यसकै कारणले लगानीकर्ताको मनोबल एकाएक उकासिएको दाबी गरेका छन् । यसैको परिणामस्वरुप आज कारोबार खुलेदेखि नै बजारमा उच्च खरीद चाप देखिँदा नेप्से परिसूचक सर्किट लेभलमा बढेको हो । 

बजार विश्लेषक उपेन्द्र पाठकले राष्ट्रबैंकले नीतिगत परिवर्तन गरी लगानीकर्ताको मनोबल बढाउने र केन्द्रीय बैंकले लिएको नीति कार्यान्वयन गर्दै कतिपय बैंकले ब्याजदर घटाएको सूचना प्रकाशित गरेपछि लगानीकर्तामा उत्साह थपिएको बताए । 

आजको सर्किट लेभलको कारोबारबाट केन्द्रीय बैंकको नीतिका कारण लगानीकर्ताको मनोबल उच्च भएको देखिएको उनको विश्लेषण छ ।