काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा बित्तीय संस्थाको जगजगी चलेको छ । धेरै कारोबार वाणिज्य बैंकको भए कमाउनेमा विकास बैंकहरुको एकल बर्चश्व देखिएको छ । 

वाणिज्य बैंक, विकास बैंकर बित्त कम्पनीले यो दिन बजार परिसूचक ७.७३ अंकले बढी १८०५.१८ अंकको उचाईमा पुगेको हो । नेप्से परिसूचक धेरै दिनको अन्तरालमा १८ सयको विन्दू पार गर्दै अगाडि दौडिएको हो । नेप्से परिसूचक हालसम्म सबैभन्दा बढी १८८१ को उचाईमा पुगेर तल झरेको थियो । तल झरेको बजार यो साता प्रत्येक दिन लगातार माथि दौडिरहेको हो । पहिलो तीन कारोबार दिन दोहोरो अंकले बढेको बजारमा पछिल्ला दुई दिन भने एक अंकको बढोत्तरी देखिएको छ । 

बिहीबार  बित्तीय समूह बाहेक अन्य सबैको सूचकमा रातो पोतियो । वाणिज्य बैंक समूहको सूचक ११.६८ अंकले वृद्धि भयो । यसैगरी, विकास बैंक र बित्त समूह क्रमशः २२.४६ र ४.५५ अंकले उक्लिए । 

बिहीबार सबैभन्दा धेरै साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । त्रिवेणी विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतहको हाराहारीमा वृद्धि भयो । 

अंकको हिसाबले सबैभन्दा धेरै बिमा समूहको सूचक तल झर्यो । बिमा समूह २४.४५ अंकले ओरालो लागेको हो । यसैगरी, जलविद्युत समू २०.३५, उत्पादनमूलक ८.८७, अन्य समूह ३.४७ र होटल समूह ०.७३ अंकले घटे । 

सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स क्रमशः १.९२ र ०.६१ अंकले उक्लिए । 

धेरै कारोबार गर्नेहरु
बिहीबार सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ११ करोड ११ लाख बराबरको सेयर कारोबार भयो । नेपाल बंगलादेश बैंकको ७ करोड ९० लाख, माछापुच्छे बैंकको ६ करोड ५८ लाख, नेपाल लाइफको ५ करोड ८७ लाख, एनएमबी बैंकको ५ करोड ४५ लाख, एभरेष्ट बैंकको ४ करोड ३४ लाख, सनराइज बैंकको ४ करोड २३ लाखको सेयर कारोबार भयो । सिद्धार्थ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४ ४ करोडको कारोबार गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ६६ लाख बराबरको प्रोमोटर सेयरको पनि किनबेच भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार सबैभन्दा धेरै साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । त्रिवेणी विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतहको हाराहारीमा वृद्धि भयो । गुडविल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमश ७.३० र ६.९१ प्रतिशतले सेयर मूल्य बढाए । अल्पाइन डेभलपमेन्ट बैंक, यूनाइटेड फाइनान्स, देव विकास बैंक, ओम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको सेयर मूल्यमा क्रमशः ५.४५, ५.४४, ४.६९,४.५० र ४.२९ प्रतिशतको वृद्धि भयो । 

साताको अन्तिम कारोबार दिन सबैभन्दा धेरै प्रोग्रसिभ फाइनान्सका लगानीकर्ताले गुमाउन पुगे । यो कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतको गिरावट आयो । ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउँदा अपी पावर कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतको पहिरो गयो ।