काठमाण्डौ । बजार मंगलबार पनि घटेको छ । यो दिन बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको हो । धेरै दिनपछि बजार घटेर १४०० तल अर्थात १३९३.०४ को विन्दूमा सीमित बन्न पुगेको हो । यो साताको सुरुवातदेखि नै बजारमा देखिएको खराब संकेतहरु मंगलबारको कारोबारले थप बलियो बनेको छ । यो दिन पनि बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले घटेको छ । सूचक र कारोबार रकम समानान्तर ढंगले घट्ने प्रवृति बजारको भविष्यका लागि अशुभ संकेत मानिन्छ । केही दिनसम्म यस्तो प्रवृति रहे बजारमा ठूलै पहिरो जानसक्ने आँकलन विश्लेषकहरुले गर्छन् । 

बजार निरश भई निरन्तर घटिरहँदा लगानीकर्ताको आत्मबल समेत खस्किएको छ । दोश्रो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक हुन थाल्दा बजारमा सुधार हुने आशामा बसेकाहरु पछिल्ला दिनहरुमा निराश बनिरहेका छन् । 

मंगलबार नेप्सेका सबै समूहको सूचकमा रातो पोतिएको छ । सोमबारसम्म बजारका आधा समूह घटेका थिए भने आधा समूह बढेका थिए । अघिल्लो दिनको भन्दा बजारको प्रदर्शन थप खराब भएपछि भविष्यमा नेप्से अझै घट्नसक्ने लगानीकर्तामा त्रास बढेको छ । 

मंगलबार बैकिङ समूह ६.६७ अंकले घटेको छ । बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूह क्रमशः ८७.६५, ३.४५ र ९.२१ अंकले घटेका छन् । यस्तै, होटल समूह ३७.२९, जलविद्युत समूह २९.४८, बित्त समूह ३.८३, व्यापारिक समूह ०.५ र अन्य समूह ०.३६ अंकले घटेका छन् । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.०२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५५ कम्पनीका ८ लाख २८ हजार ७ सय ७ कित्ता सेयर ३२ करोड २६ लाख, ७३ हजार ३ सय ५८ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन सबैभन्दा बढी सानिमा माई हाइड्रोेले २ करोड ९२ लाख बढीको कारोबार गरेको छ । युनिलिभर नेपाल लिमीटेडले २ करोड १५ लाख, बुटवल पावर कम्पनीले १ करोड ९२ लाख बढीको कारोबार गर्यो । ग्लोबल आइएमई बैंकको १ करोड ४८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा ओरिएन्टल होटल लिमीटेडे १ करोड ३३ लाख, सानिमा बैंकले १ करोड २६ लाख, फ्रस्ट माइक्रोफाइनान्स डेभपमेन्ट बैंकले १ करोड १९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन  फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.४१ प्रतिशतले बढ्यो । यस्तै, वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडको सेयर मूल्यमा ५.०८ प्रतिशतले वृद्धि भयो ।

यो दिन कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा धेरै गुमाए । कालिकाको मूल्यमा ५.३२ प्रतिशत र एभरेष्टको ५.२२ प्रतिशतले गिरावट आयो ।