– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले सही र पारदर्शी ढंगले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ।
धितोपत्र बजारमा लगानीकर्ताहरुले वित्तीय विवरणको अध्ययन गरी कम्पनीको अवस्था आँकलन गरी सेयर खरिदबिक्री गर्छन्। कुनै पनि कम्पनीको वित्तीय विवरणले बजारमा सेयरमूल्यमा निकै प्रभाव पार्छ। त्यसैले कम्पनीले सही र पारदर्शी ढंगले आफ्नो त्रैमासिक र वार्षिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ।
हालै नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेका थिए। तिनैमध्ये एउटा नेरुडे लघुवित्त वित्तीय संस्थाले पनि आफ्नो दोस्रो त्रैमास रिपोर्ट गत माघ १४ गते सार्वजनिक गर्यो। जसमा कम्पनीको सन्तोषजनक प्रगति देखियो।
आकर्षक रिपोर्ट सार्वजनिक गरेकै कारण यो लघुवित्तको सेयरमा लगानीकर्ताहरु झुम्मिए। केही दिनसम्म लगातार यसको सेयरमूल्य पनि बढ्यो।
पछि बजारमा ठूलो हलचल नै भयो। संस्थाले त गलत रिपोर्ट सार्वजनिक गरेको जताततै कुरा चल्न थाल्यो।
बजारको हल्ला साँच्चै रहेछ। कम्पनीले गलत विवरणसहितको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीले गत माघ २९ गते केही विवरण फरक पर्न गएकोले सच्चाइएको भन्दै सूचना सार्वजनिक गर्यो। त्यसपछि यो लघुवित्तको सेयरमूल्यमा गिरावट आउन थाल्यो।
गलत सूचना प्रकाशित गरेकै कारण लगानीकर्ताहरुले लाखौँ रकम गुमाउन पुगे। ‘यो विवरण हेरेर सेयर खरिद तथा बिक्री गर्नेेलाई कम्पनीको पछि सच्चाइएको विवरणले घाटामा पारेको छ’, लगानीकर्ता गोविन्दप्रसाद घिमिरेले भने, ‘यो सरासर गलत हो र नियामक निकायले यस्तो कार्य गर्नेलाई कारबाही गर्नुपर्छ। पहिले विवरण हेरेर सेयर खरिद तथा बिक्री गर्दा पर्न गएको घाटालाई कसले जिम्मा लिने ?’
मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडेले सुरुमा प्रकाशित गरेको दोस्रो त्रैमास वित्तीय विवरणमा रिजर्भको आकार गत वर्षको तुलनाको ४७ प्रतिशतले बढाएर ६८ करोड १३ लाख रुपैयाँ पुगेको र प्रतिसेयर नेटवर्थ पनि २४८.९९ रुपैयाँ पुगेको जनाइएको थियो। तर पछि कम्पनीले सूचना निकालेर रिजर्भ ५६ करोड ८८ लाख रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२४.३९ रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको जनाएको छ।
दोस्रो त्रैमास रिपोर्टमा उल्लेखित सेयरपुँजी तथा दायित्वमा पनि फरक पर्न गएको भन्दै कम्पनीले संशोधन गरेको थियो।
नेरुडे लघुवित्तका कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले प्राविधिक त्रुटिका कारण दोस्रो त्रैमास रिपोर्टमा केही वित्तीय सूचकहरु फरक पर्न गएको स्वीकारे। ‘हामीले यस विषयमा अनुसन्धान पनि गर्यौँ र प्राविधिक त्रुटि नै भएको पाइएपछि संशोधन गर्दै सूचना निकाले सर्वसाधारणलाई जानकारी गरायौँ।’
नेप्से प्रवक्ता मुराहरि पराजुलीले नेरुडेको त्रुटिपूर्ण वित्तीय विवरणका विषयमा अनभिज्ञता प्रकट गरेका छन्। ‘यस विषयमा नेप्सेलाई थाहै छैन, यदि त्यस्तो हो भने अनुसन्धान हुनुपर्छ’, उनले भने, ‘अब कम्पनीले पनि सूचना निकालेर संशोधन गरिसकेकोले यस्तो अवस्थामा कस्तो कारबाही हुने भन्ने प्रस्ट नियम छैन।’
पराजुलीले नेप्सेमात्र होइन नियामक निकाय सबैले यसमा कस्तो कदम उठाउनुपर्छ भनेर सोच्नुपर्ने अवस्था चाहिँ रहेको बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago