काठमाण्डौ । बजार र लगानीकर्ता बढेका कारण पछिल्लो समय नेपाली सेयर बजार गुल्जार बन्दै गएको छ । सेयरमा यति धेरै मागहरु हुन थालेका छन् कि मागलाई सम्बोधन हुने गरी सेयरको निश्कासन नै हुन सकेको छैन । यही कारण केही कम्पनीहरुले सर्वसाधारणका लागि निश्कासन गर्ने सेयरमा थामिनसक्नु गरी आवेदनहरु पर्न थालेका छन् । यो प्रवृतिको पछिल्लो उदाहरण बनेको छ नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको आइपीओ । 

यो संस्थाले ३ लाख कित्ता प्राथमिक सेयरको निश्कासन गरेकोमा दोश्रो दिनसम्म मागको तुलनामा ८७ गुणा बढी आवेदन परिसकेको छ । 

यो कम्पनीले साउन १६ गतेदेखि १ सय रुपैयाँ अंकित मूल्यको ३ करोड बराबरको आइपीओमा आवेदन मागेकोमा सोमबारसम्ममा ८७.५४  गुणा बढीको आवेदन परेको हो । 

यो कम्पनीको आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकको रुपमा काम गरिरहेको एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडका मर्चेन्ट बैकिंग प्रमुख बद्री प्याकुरेलका अनुसार दोश्रो दिन(सोमबार)सम्ममा ३ करोडको आइपीओमा २ अर्ब ३९ करोड रुपैयाँको आवेदन परिसकेको छ । सबै क्षेत्रबाट गरी ३९ हजार भन्दा बढी आवेदन परेका छन् । 

आइपीओको यो अफर आगामी साउन १९ गते बन्द हुनेछ । त्यसपछि पनि आवश्यक परेको खण्डमा आवेदन दिने अधिकतम अन्तिम मिति साउन ३० हुन सक्नेछ । 

इच्छुक आवेदकले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । 

यो संस्थाले कुल निश्कासित प्राथमिक सेयरमध्ये १२ हजार कित्ता आफ्ना कर्मचारीका लागि, १५ हजार कित्ता ७ वटा म्यूचिअल फण्डवाला कम्पनीका लागि र बाँकी २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले आइपीओको निश्कासनबाट चुक्तापूँजीमा ३ करोड थप गर्ने योजना बनाएको छ । आइपीओको व्यवस्थापनपछि कम्पनीको कुल चुक्तापूँजी १० करोड रुपैयाँ पुग्ने बताइएको छ । अधिकृत पूँजी ५० करोड रुपैयाँको रहेको छ । 

आइपीओपछि यो कम्पनीमा संस्थापक–सर्वसाधारणको सेयर रेसियो(सेयर स्वामित्व अनुपात) ७० : ३० हुनेछ ।