काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७९ हजार बढी कित्ता संस्थापक सेयर आज (साउन १६ गते)बाट बिक्रीमा राखिएको छ। 

संस्थाको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। यही साउन २२ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।