काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २९ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको छ।

कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन पाउनेछन्। 

यसैगरी मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ शाख कार्यालयबाट पनि खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत असार १ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ जेठ ३२ गतेसम्म कायम लगानीकर्ताले यो हकप्रदमा आवेदन दिन पाउनेछन्। 

यो हकप्रदको निष्कासन बन्द साउन १८ गते बैंकिङ समयपछि हुनेछ। हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 

कम्पनीले यो हकप्रदबाट प्राप्त रकम ३ वटा जलविद्युत आयोजनामा लगानी गर्नेछ। जसअनुसार कम्पनीले लोआर इखुवा हाइड्रोपावर कम्पनी (१४.१५ मे.वा. क्षमताको तल्लो इखुवा जलविद्युत आयोजना)मा १२ करोड २७ लाख रुपैयाँ, तल्लो इन्द्रावती जलविद्युत आयोजना (४.५ मे.वा.)मा ५६ करोड १७ लाख रुपैयाँ र इन्द्रावती तेस्रो जलविद्युत आयोजना (७.५ मे.वा.)मा १३ करोड ७७ लाख रुपैयाँ लगानी गर्नेछ।