काठमाण्डौ । काठमाण्डौ न्युरोड क्षेत्रमा बुधबार पनि प्रहरीले पसल खोल्न दिएनन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बुधबारदेखि न्युरोड क्षेत्रमा पसल खोल्ने निर्णय भएको थियो। तर बिहानै परिचालित प्रहरीले पसल रोक लगाएका छन्। 

काठमाण्डौका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर पसल तथा व्यवसाय सुचारु गरिए पनि मंगलबार प्रहरीले एक्कासी आएर जबरजस्ती बन्द गराएको भन्दै व्यापारी व्यवसायीले यत्तिकैमा आफूहरु घरभित्र नथुनिने र पसल संचालन गर्ने निर्णय गरेका थिए। तर प्रहरीले पसल खोल्न नदिएपछि महासंघले आज दिउँसो बस्ने मन्त्रिपरिषद्को लकडाउनका विषयमा हुने निर्णय पर्खिने भएको छ। आजको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्दै व्यापारव्यवसाय चलाउने दिने निर्णय नगरेमा आफूहरु आन्दोलनमा उत्रिने महासंघले चेतावनी दिएको छ। 

मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्दैछ। बैठकमा लकडाउन खुकुलो पार्ने मोडालिटीका विषयमा छलफल हुने बताइएको छ। 

यसअघि महासंघले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी सरकारका आधिकारिक निकायसँग छलफल गरी विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका मापदण्ड पूरा गरी संचालनमा रहेका व्यवसायहरु बिना कुनै छलफल एक्कासी आएर बन्द गराउने घटनालाई निन्दनीय भनेको थियो। 

महासंघको आकस्मिक बैठकले पसल सुचारु राख्ने निर्णय गर्दै सरकारसँग ५ बुँदे मागसमेत प्रस्तुत गरेको छ। महासंघले बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाको ऋणको ब्याज, हर्जाना पूर्ण रुपमा मिनाहा हुनुपर्ने, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलाई बुझाउनुपर्ने सम्पूर्ण करहरु लकडाउन अवधिभरको मिनाहा हुनुपर्ने, लकडाउन अवधिभरको घरभाडा मिनाहा हुनुपर्ने, केरुङ लगायत देशका विभिन्न नाकाहरुमा आइपुगेका सामानहरुको जाँचपास गरी यथाशीघ्र भित्र्याउने व्यवस्था गरिदिनुपर्ने र सम्पूर्ण निजी क्षेत्रका संघसंस्थाहरुलाई एकीकृत गरी एक समन्वय समिति गठनको माग गरेको छ। 

ती माग पूरा नभए आन्दोलनमा उत्रिने महासंघको चेतावनी छ।