काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गरेको आइपीओ बाँडफाँड गरेको छ । 

सनराइज क्यापिटल लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको संयुक्त निष्काशन तथा बिक्री प्रबन्धकत्वमा यो हाइड्रोपावरकोे रु.१०० अङ्कित दरका ११ लाख कित्ता आइपीओको बिक्री खुलाइएको थियो । यसमध्ये प्रत्यक्ष प्रभावित सन्दकपुर गाउंपालिकाका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ६,६०,००० कित्ता र इलाम नगरपालिकाका बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४,४०,००० कित्ता छुट्याइएको थियो ।

माघ ५ गतेदेखि माघ २३ गतेसम्म बिक्री खुल्ला गरिएको आइपीओमा १५,४७८ जना आवेदकहरुबाट ५२,१९,५८० कित्ता साधारण शेयरका लागि आवेदन परेको थियो । 

फागुन २३ गते सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौमा नियमन निकायको प्रतिनिधि, निष्काशन कम्पनी र निष्काशन तथा बिक्रीप्रबन्धकहरुको उपस्थितिमा एक समारोह बीच शेयर बाँडफाँड गरिएको छ । जसअनुसार प्रत्यक्ष प्रभावित सन्दकपुर गाउँपालिकाको ६,३३५ जना बासिन्दाहरुबाट माग भएको २४,९९,६८० कित्ता शेयरहरुमध्ये २० देखि १३० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदकहरुलाई माग बमोजिम र १४० देखि ५,५०० कित्ता माग गर्ने ३,२६९ आवेदकहरुमध्ये २,३८२ जनालाई १४० कित्ता र बाँकीलाई १३० कित्ताको दरले सेयर बाँडफाँड गरिएको छ ।

साथै इलाम नगरपालिकाकोे ९,१४३ जना बासिन्दाहरुबाट माग भएको २७,१९,९०० कित्ता शेयरहरु मध्ये २० देखि ५० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदकहरुलाई माग बमोजिम र ६० देखि ५,५०० कित्ता माग गर्ने ६,१३७ आवेदकहरुमध्ये ६२४ जनालाई ६० कित्ता र बाँकीलाई ५० कित्ता शेयर बाँडफाँड गरिएको बताइएको छ ।