काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले निश्कासन गरेको ११ करोड रुपैयाँको आइपीओमा ९ गुणा भन्दा बढी आवेदन परेको छ । 

यो कम्पनीले साउन १ गतेदेखि १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । 

आइपीओमा १ लाख ४३ हजारबाट ९९ करोड ८४ लाख रुपैयाँको हाराहारीमा आवेदन परेको हो । 

कुल निश्कासित कित्तामध्ये ४ प्रतिशतले हुन आउने ४४ हजार कित्ता आफ्ना कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ५५ हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणका लागि भने कुल १० लाख १ हजार कित्ता सुरक्षित गरिएको छ। 

यो कम्पनीलाई धितोपत्र बोर्डले असार ८ गते सर्वसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो । कम्पनीले जेठ ७ गते आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो । 

कम्पनीले गत माघमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि समेत ११ करोड मूल्यकै आइपीओ निश्कासन गरेको थियो । त्यसपछि सोही मूल्य बराबरको आइपीओ सर्वसाधारणका लागि समेत निश्कासन गरिएको हो । 

आइपीओ खरीदका लागि साउन ४ गतेसम्म आवेदन दिइसक्नुपर्ने थियो । 

यो कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन गरिसकेको छ ।

हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी(क्यास्केड) जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

१८.१ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४० लाख रुपैयाँ रहेको छ।