काठमाण्डौ । नेपाल उद्योग परिसंघअन्तर्गत विदेशी लगानी सहजीकरण र उत्पत्तिको प्रमाणपत्रसम्बन्धी २ वटा समिति गठन गरिएको छ।
परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी विदेशी लगानी सहजीकरण समिति गठन गरिएको छ। समितिको सहसंयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन्। समितिमा गौरव गोयल सदस्य छन्।
समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्यस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ।
यसैगरी समितिले नेपामला विदेशी लगानीका लागि उच्च प्रतिफलमुखी क्षेत्र पहिचान एवं सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्नेछ।
समितिको बैठकमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल लगानीका लागि उचित गन्तव्य रहेको भन्दै लैगानीकर्तामैत्री नीतिगत व्यवस्था हुनुपर्ने बताए। लगानीका लागि अप्ठेरा कानुनी व्यवस्था परिमार्जनका लागि समितिले आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए।
समितिको बैठकमा उपाध्यक्ष ढकालले विदेशी लगानी भित्र्याउन आवश्यक सहजीकरणका लागि सरोकारवालासँग छलफल एवं अन्तरक्रिया अघि बढाउने बताए। ‘हामीसँग संभावना भएर पनि धेरै उपलब्धि भएका छैनन्’, उनले भने, ‘कतिपय उद्योगमा लगानी घोषणा भएर पनि कार्यान्वयन हुन सकेको छैन, त्यसमा के समस्या छन् त्यसलाई समाधन गर्न पनि समितिले काम गर्नेछ।’
यसैगरी नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न परिसंघले उत्पत्तिको प्रमाणपत्रसम्बन्धी समिति गठन गरेको छ।
समितिले उत्पत्तिको प्रमाणपत्र जारी गर्नेसम्बन्धी कार्यविधिको व्यवस्थाअनुसार नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र सहज तथा सरलरूपमा निर्यातकर्तालाई उपलब्ध गराउनेछ। समितिको संयोजक परिसंघका राष्ट्रिय परिषद सदस्य अमित मोर छन्।
उत्पत्तिको प्रमाणपत्र समितिको सहसंयोजकमा राहुल अग्रवाल तथा सदस्यहरुमा राजेशकुमार अग्रवाल, नरेश दास, मनिष खेम्का, राजीव गुप्ता, सन्दिप शारदा, विदुशि राणा तथा सौरभ दुगड रहेका छन्।
हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गरेको छ। जसअन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकहरुका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ।
उद्योग विभागअन्तर्गत रहेको उत्पत्तिको प्रमाणपत्रसम्बन्धी प्राविधिक समितिमा परिसंघ हालै सदस्यका रुपमा चयन भएको थियो। यससँगै परिसंघले भारतमा निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरेको छ। ‘अब परिसंघ सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न सक्ने अवस्थामा छ,’ संयोजक मोरले भने।
सरकारले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीअन्तर्गत परिसंघले तेस्रो मुलुक निकासीलाई आवश्यक उत्पत्तिको प्रमाणपत्र विद्युतीय माध्यमबाट समेत जारी गरिरहेको जानकारी दिँदै मोरले निकट भविष्यमा भारत, साफ्टा तथा अन्य द्विपक्षीय व्यापार समझौताअन्तर्गतका उत्पत्तिको प्रमाणपत्रहरुसमेत विद्युतीय माध्यमबाटै जारी गर्ने तयारी भइरहेको बताए।
त्यस्तै परिसंघले आफ्ना सदस्य संस्था तथा निर्यातकर्ताहरुलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा कुनै बाधा, अड्चन वा समस्या रहेमा परिसंघमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago