काठमाण्डौ। नेपालका कोरोनाभाइरसबाट प्रभावित पर्सा जिल्लामा आइसोलेसनबाट कोरोना संक्रमित भाग्न खोजे प्रहरीलाई गोली हान्नसमेतको अधिकार दिइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बसेको संकट व्यवस्थापन समितिको बैठकले फरार कोरोना संक्रमितलाई नियन्त्रणमा लिन प्रहरीलाई यस्तो अधिकार दिएको हो। हिजो बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना संक्रमित फरार भएपछि यस्तो निर्णय लिन बाध्य हुनुपरेको प्रशासन स्रोत बताउँछ। 

बैठकले अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। भाग्न खोज्ने संक्रमित व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्न र त्यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी दिने निर्णय बैठकले गरेको हो। 

बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।

बैठकले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वस्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ।