काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजारमा पहिरो गएको छ । 

अघिल्लो साता प्रत्येक कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक आइतबार ३६.२७ अंक भन्दा बढीले घटेर १७३०.६४ अंकमा झरेको हो । 

विश्लेषकहरुले भने बमोजिम बजारमा बिक्रीको चाप कायमै रहेको र खरीदमा खासै चाप नभएकोले तथा अधिकांश लगानीकर्ता लाभांश र हकप्रद घोषणा गर्ने कम्पनीको पछाडि दगुरेका कारण बजार निरन्तर घटिरहेको हो । 

निकै धेरै दिनपछि पूँजीबजारमा २.०५ प्रतिशतको गिरावट देखिएको हो । आइतबार सबै समूहको सूचक राताम्मे भएको छ । ४ समूहको परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको छ भने अन्य ४ समूहमा डेढ प्रतिशतको हाराहारीमा पहिरो गएको छ । 

अंकको हिसाबले सबैभन्दा धेरै बिमा समूहमा पहिरो गएको छ । यो समूहको परिसूचक २४७.७१ अंकले घट्यो । होटल समूहमा ६२.४ अंकको पहिरो जाँदा वाणिज्य बैंक, विकास बैंक र बित्त समूह क्रमशः २८.४९, ५५.७७ र १४.३९ अंकले झर्यो । जलविद्युत समूहमा ५७.१५ र उत्पादनमूलकमा ३९.९९ र अन्य समूहमा १०.७ अंकको पहिरो गयो । 

'क' वर्गका कम्पनीहरुको कारोबारमा पहिरो गएका कारण सेन्सेटिभ इण्डेक्समा करिब ७.७९ अंकको पहिरो देखियो । फ्लोट इण्डेक्स पनि २.८ अंकले ओरालो लाग्यो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकको ११ करोड ६८ लाखको कारोबार भयो । कृषि विकास बैंकले ११ करोड ४८ लाख, एनबी बैंकको ७ करोड ७३ लाख, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ९७ लाख, शिखर इन्स्योरेन्सको ३ करोड ९८लाख, सिद्धार्थ बैंकको ३ करोड ७३ लाख, सनराइज बैंकको ३ करोड ६२ लाख, नवील बैंकको २ करोड ४३ लाख, माछापुच्छे बैंकको २ करोड २१ लाख र सानिमा बैंकको २ करोड १९ लाखको सेयर किनबेच भयो ।

धेरै कमाउने र गुमाउने
बजारमा पहिरै पहिरो जाँदा समेत न्याग्दी ग्रुप पावर लिमीटेडको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीले वृद्धि भयो । नवील बैंकको सेयर मूल्यमा पनि करिब ६ प्रतिशत वृद्धि भयो । सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम र एभरेष्ट बैंकका लगानीकर्ताले पनि केही सम्पत्ति कमाए ।

आइतबार सबैभन्दा धेरै रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ९.४४ प्रतिशतको गिरावट देखियो । 

बाँकी ७ कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा बढीको गिरावट देखियो । एभरेष्ट बैंकको कन्भर्टेवल सेयर, निर्धन उत्थान विकास बैंक, एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था, डिप्रोक्स डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक, एनआइडीसी क्यापिटल मार्केट र नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्यमा ७ प्रतिशत बढीको गिरावट आएको हो ।