– अनन्त्य सुन्दर

काठमाण्डौ । झापा दमकका सुवास भट्टराई विगत २४ वर्षदेखि सेयर बजारमा सक्रिय छन्। 

क्याम्पस पढ्दापढ्दै २०५३ सालबाट आईपीओबाट लगानी सेयर बजारमा होमिएका भट्टराई अहिले नेपाल पुँजी बजार लगानीकर्ता संघको प्रदेश १ का संयोजक छन्। उनी सेयरसम्बन्धी देशविदेशमा तालिम पनि दिँदै आएका छन्।

‘बुवा–आमालाई डाक्टर पढाउने इच्छा थियो। तर काठमाण्डौ बीबीएस पढ्नका लागि आएँ’, भट्टराई भन्छन्, ‘त्यही क्रममा एकजना गुरुले सेयरमा लगानी गर्न सुझाव दिनुभयो। त्यस बेलादेखि नै बजारमा छु।’

सेयरमा लगानी गर्न चाहनेहरुलाई भट्टराई निःशुल्क परामर्श पनि दिँदै आएका ‘२०६७–६८ सालमा सेयर बजारमा १ करोडसम्म डुबेको थियो, पछि १० करोडसम्म कमाएँ। अहिले घर, जग्गा, जमिन सबै सेयर बजारले जोडेको छु। मेरो दाजुभाइ र मैलेबराबर अंश पाएका थियौँ। अहिले मेरो सम्पत्ति मेरो दाजुभाइको भन्दा डबल छ। कारण सेयर बजार नै हो।’ सेयर बजारमा धैर्यता हुने र राम्रा कम्पनीमा लगानी गर्ने हो भने बजारबाट राम्रो कमाउन सकिने भट्टराईको भनाइ छ। ‘हाइब्रिड इन्भेस्टमेन्ट’ रणनीति फलो गरेर लगानी गर्दा बजार घट्दा पनि घाटा नहुने भट्टराईको तर्क छ। ‘बजार २२ प्रतिशतले घट्दा लगानीकर्ताको लगानी ४० प्रतिशतसम्मले घट्यो। कतिपय लगानीकर्ता त डिप्रेसनमा पनि गए। तर हाइब्रिड इन्भेस्टमेन्ट फलो गरेकोले मेरो पोर्टफोलियो ५.४२ प्रतिशतले मात्र घट्यो’, उनी भन्छन्, ‘नाफामात्र नभएर अहिले हाइब्रिड इन्भेस्टमेन्टबाट वर्षको १५–२० लाख लाभांश नै आउँछ।’

हाइब्रिड इन्भेस्टमेन्ट लङ टर्ममा सेयर बजारले मुद्रास्फीतिलाई पनि बिट गर्छ।

‘सेयर बजार क्र्यास नै भयो भने पनि हाइब्रिड इन्भेस्टमेन्टबाट कहिले घाटा हुँदैन’, भट्टराई भन्छन्, ‘बजार घट्दा पनि मलाई खान–लाउनको दुःख छैन। हाइब्रिड इन्भेस्टमेन्टअन्तर्गत सहकारी, बीमालगायत अन्य संस्थाहरुसँग सहकार्य गरेर सेयर बजारमा हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ।’

अहिले सेयर बजारमा अध्ययन नगरी अरुको कुरा सुनेर लगानी गर्नेहरू धेरै छन्। भट्टराई भन्छन्, ‘४० लाखको सेयर किनेकी एक महिला लगानीकर्ताको सेयर घटेर २५ लाख भएछ। श्रीमानलाई नभनी लगानी गरेकाले उनले घाटामा नै सेयर बेच्नुपर्यो। आत्महत्या गर्नसम्म सोचेकी ती महिलाको अहिले डिप्रेसनको औषधि लिइरहेकी छन्।’ 

भोलिको दिनमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको अवस्था ती महिलाको जस्तो अवस्था नहोस् भनेर सेयर तालिम पनि दिँदै आएको भट्टराई बताउँछन्। ‘मैले अहिले लर्न टु अर्न टपिकमा तालिम दिँदै आएको छु। सेयर बजारमा लर्न नगरी अर्न गर्न सकिँदैन’, उनले भने। 

आईपीओमा लगानी गर्न त्यति अध्ययन आवश्यक हुँदैन। ‘तर, दोस्रो बजारमा लगानी गर्दा कसरी लगानी गर्ने, कस्तो पैसा लगानी गर्ने, कति वर्षको लागि लगानी गर्नेलगायत विविध रणनीति बनाएरमात्र लगानी गर्नुपर्छ’, भट्टराई भन्छन्, ‘अनिमात्र खेलाडीहरुको ट्रयापबाट बचिन्छ।’

सुरुमा खेलाडीहरुले सेयर खरिद गर्ने अनि त्यसपछि कम्पनीको मार्केटिङ गर्ने सोझा लगानीकर्तालाई फसाउने गरेको भट्टराई बताउँछन्।

नेपाली सेयर बजार ५४०० कन्फर्म पुग्ने भट्टराईको दाबी छ। ‘अहिले सेयर बजारलाई हेर्न नजर साथै लगानीकर्ताको संख्या पनि बढेकाले बुल र बियरको साइकल ४–४ वर्ष नभएर ५ वर्ष बुल र ३ वर्ष बियर हुने सम्भावना छ’, उनले भने। 

व्यवसायबाट डुबेर आत्महत्या गर्न लागेकाको सेयरबाट ज्यान जोगिएको उदाहरणहरु पनि धेरै रहेको भट्टराई सुनाउँछन्। ‘त्यसैले सेयर बजारको भविष्य उज्ज्वल छ। तर सेयर बजारबाट १ लाख कमाउँदा जति आनन्द हुन्छ त्योभन्दा २५ गुणा बढी पीडा १ लाख गुमाउँदा हुन्छ’, उनले भने, ‘त्यसैले बजारमा पैसा नगुमाउनु नै सबैभन्दा ठूलो कुरा हो।’

सेयर बजारमा पैसा नगुमाउनका लागि अध्ययन अत्यावश्यक रहेको भट्टराईको भनाइ छ। लगानीकर्तालाई सुझाव दिँदै भट्टराई भन्छन्, ‘सेयर बजारमा लगानी गरेको कम्पनी ब्वाई फ्रेन्ड र गर्ल फ्रेन्डले जस्तै माया गर्नु पर्छ। श्रीमान–श्रीमतीको डिभोर्स हुन गाह्रो हुन्छ। तर ब्वाई फ्रेन्ड–गर्ल फ्रेन्डजस्तै माया पनि गर्दै समय–समयमा पार्टनर परिवर्तन गर्दै जानुपर्छ।’