काठमाण्डौ । पाँचथर पावर कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको समेत जोडेर सोमबार(फागुन १३ गते)देखि सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओमा ५ लाख १२ हजार ४० कित्ताका लागि आवेदन परेको छ।
कम्पनीले १७ लाख ५० हजार २५० कित्ता सेयर निश्कासन गरेको हो । कुल निश्कासन गरिने भनिएको कित्तामध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता र सामूहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता सुरक्षित गरिएको छ । यसको अर्थ सर्वसाधारणका लागि १६ लाख २७ हजार ७३३ कित्ता हुनेछ ।
यसरी हेर्दा पाँचथर पावरको आइपीओमा पहिलो दिन कुल निश्कासित कित्ताको ३१.४५ प्रतिशत आवेदन परेको देखिएको छ ।
पहिलो दिन सोमबार साँझ ५ बजेसम्ममा ११ हजार १८३ वटा आवेदन प्राप्त भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
पाँचथर पावर कम्पनी लिमीटेडले पुस ३० गतेदेखि माघ २९ गतेसम्म आवेदन दिनसक्ने गरी आयोजना प्रभावितका लागि ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ निश्कासन गरेको थियो । सोमध्ये १ लाख ८० हजार कित्ता मात्र बिक्री भयो । आयोजना प्रभावितले नकिनेको समेत जोडी सर्वसाधारणका लागि १७ लाख ५० हजार २५० कित्ता आइपीओ निश्कासन गरेको हो ।
कम्पनीको आइपीओमा छिटोमा फागुन १६ गतेभित्र र ढिलोमा चैत १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि आवेदन दिन सक्नेछ । यसको अर्थ साथमा १ हजार रुपैयाँ हुनेले समेत यो जलविद्युत कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिन सक्नेछ ।
कम्पनीको आइपीओलाई केयर रेटिङ्गस नेपालले केयर ‘एनपि आइपिओ ग्रेड ४’ दिएको छ, यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
यो कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए प्रोजेक्टबाट बिजुली उत्पादन थालिसकेको छ । हेवा खोलाको आयोजनास्थल पाँचथरमा छ भने यहाँबाट उत्पादित बिजुलीले ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लासम्मका क्षेत्रलाई उज्यालो बनाएको छ।
हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।
यो आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ भने यसमा भएको साधारण लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago