काठमाण्डौ । पाँचथर पावर कम्पनीको आइपीओमा ३५ लाख बढी कित्ताका लागि आवेदन परेको छ । 

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो कम्पनीको आइपीओ आवेदन दिने अन्तिम दिन शुक्रबार २ः३० बजेसम्मको तथ्यांक अनुसार ८१ हजार ८१० आवेदनबाट ३५ लाख १ हजार ८७० कित्ता खरीदका लागि आवेदन परेको हो । 

बिहीबार सार्वजनिक विदा भएकोले शुक्रबारसम्म इच्छुकले आइपीओ खरीदका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । 

दिउँसो २ः३० बजेसम्मको यो तथ्यांकलाई आधार मान्दा कम्पनीको आइपीओमा माग गरेभन्दा २.१५ गुणा बढी आवेदन परेको देखिएको छ । 
 
यो कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको समेत जोडेर सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओ तेश्रो दिनबाट ओभरसब्सक्राइब्ड भएको थियो । 

कम्पनीले १७ लाख ५० हजार २५० कित्ता सेयर निश्कासन गरेको हो । कुल निश्कासन गरिने भनिएको कित्तामध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता र सामूहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता सुरक्षित गरिएको छ । यसको अर्थ सर्वसाधारणका लागि १६ लाख २७ हजार ७३३ कित्ता हुनेछ ।

पाँचथर पावर कम्पनी लिमीटेडले पुस ३० गतेदेखि माघ २९ गतेसम्म आवेदन दिनसक्ने गरी आयोजना प्रभावितका लागि ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ निश्कासन गरेको थियो । सोमध्ये १ लाख ८० हजार कित्ता मात्र बिक्री भयो । आयोजना प्रभावितले नकिनेको समेत जोडी सर्वसाधारणका लागि १७ लाख ५० हजार २५० कित्ता आइपीओ निश्कासन गरेको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । 

कम्पनीको आइपीओलाई केयर रेटिङ्गस नेपालले केयर ‘एनपि आइपिओ ग्रेड ४’ दिएको छ, यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

यो कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए प्रोजेक्टबाट बिजुली उत्पादन थालिसकेको छ । हेवा खोलाको आयोजनास्थल पाँचथरमा छ भने यहाँबाट उत्पादित बिजुलीले ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लासम्मका क्षेत्रलाई उज्यालो बनाएको छ। 

हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।

यो आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ भने यसमा भएको साधारण लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण छ ।