काठमाण्डौ । निकै ठूलो विवादमा परेको हिमालयन रि- इन्स्योरेन्सको आईपीओमा पाँचौ दिन अर्थात् शुक्रबारसम्ममा करिव ५० प्रतिशत आबेदन परेको छ । 

यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको छ ।कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा पाँचौ दिन बिहीबारसम्ममा  १४ हजार ७५२ जना आवेदकले  १२ लाख ५२  हजार ८१०  कित्ता खरिदका लागि आवेदन दिएका छन् । 

सिडीएसीकाअनुसार शुक्रबार साँझ ५ बजेसम्ममा  २६ करोड ४२ लाख बढीको खरिद आबेदन परेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन गरेको छ। पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । 

धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार हिमालय रि इन्स्योरेन्सले कुल जारी पूँजी रु. १० अर्बको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँमा प्रिमियम समेत थप प्रतिकित्ता रु. २०६ ले गणना गर्दा कुल ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ । सोमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याइएको छ । 

विदेशमा काम गर्ने नेपालीहरुले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

आईपीओ खरीदका लागि आगामी मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ ।

कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ । यो कम्पनीको आईपीओ रोक्न केही समयअघि संघीय संसदको अर्थसमितिले निर्देशन दिए पनि पछि पुनः सेटिङ मिलाइएपछि निश्कासन गरिएको हो ।