काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षसम्ममा पाँच वर्षभन्दा पुरानो लाभांश नलिन नआएका सेयरधनीहरुलाई दाबी गर्ने अन्तिम मौका दिएको छ।

बैंकले आइतबार सूचना प्रकाशित गर्दै बैंकको विभिन्न साधारणसभाबाट पारित भएबमोजिम चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांश रकम सम्बन्धित सेयरधनी वा निजको हकवालाले हालसम्म पनि लिन नआएकाले दाबीका लागि अन्तिम मौका दिएको हो। जसअनुसार आउँदो साउन ११ गतेसम्म त्यस्ता लाभांश दाबी गरिसक्न बैंकले सूचित गरेको छ।

त्यस्ता लिन बाँकी लाभांश पुर्जा यो बैंकको सेयर रजिस्ट्रार काठमाण्डौको लाजिम्पाटस्थित एनआईबीएल एस क्यापिटलमा सम्पर्क गरी लिन बैंकले अनुरोध गरेको छ। 

यदि सेयरधनीबाट दाबी प्रस्तुत हुन नआएको लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले स्पष्ट पारेको छ। तसर्थ साउन ११ आफ्ना लाभांश पुर्जा संकलन गरी आफ्नो खातामा लाभांश रकम रकमान्तर गर्न बैंकले आग्रह गरेको छ। 

आफ्नो लाभांश पुर्जा एनआईबीएल एस क्यापिटलको कार्यालय वा यो बैंकको कुनै पनि शाखामार्फत आवेदन दिई भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सकिने बैंकले जानकारी गराएको छ।