काठमाण्डौ । बाली पाकेर थन्क्याउने बेलामै षड्यन्त्र भयो भने वर्षभरि लगानी गर्नेलाई के हुन्छ होला ? केही दिनदेखि सेयर बजारमा यस्तै खेलबाट सर्वसाधारण लगानीकर्ताले चर्को प्रताडना भोगिरहेका छन् । वर्षभरिको लगानी पाकेर बाली भित्र्याउन तमतयार लगानीकर्तालाई यो वा त्यो बाहानामा त्रसित बनाएर सस्तोमै पाकिसकेको बाली अरुलाई जिम्मा लगाएर बजारबाट भगाउने खेल भइरहेको हो । 

साउन लागेपछि आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम धमाधम भइरहेको छ । सूचिकृत कम्पनीहरुका यस्ता विवरणबाट उनीहरुले सम्बन्धित वर्षका लागि लगानीकर्ताहरुलाई वितरण गर्नसक्ने लाभांशको सहजै आँकलन गर्न सकिन्छ । 

यो पटकको वित्तीय विवरण प्राय धेरै कम्पनीको सन्तोषजनक नै आइरहेको छ । आउने वित्तीय विवरणले समेत लगानीकर्तालाई निराश नबनाउने उनीहरुका तेश्रो त्रैमासको वित्तीय विवरण अध्ययन गरे काफी हुन्छ । अझ बजारमा बोलवाला कायम रहेका बैंक तथा वित्तीय संस्थाले यो वर्ष निकै राम्रो नाफा गरेका छन्, यसको अर्थ उनीहरुले यो वर्ष लाभांश पनि राम्रै दिनेछन् । यही कुरा बुझेका विभिन्न गिरोहहरुले ब्रोकरदेखि मिडियासम्मलाई प्रयोग गरी सुनियोजित रुपमा बजार घटाउने खेल थालेका देखिएको हो । 

एकातिर विभिन्न माध्यम प्रयोग गरी बजारमा लाभकर गणना तथा मौद्रिक नीतिले केही गरेन भन्दै त्रास फैलाउने र अर्कोतर्फ संगठित गिरोहले केही दिनअघि नै भएभरको सेयर बेचेर बजार घटाई आफूले महंगोमा बेचेको सेयर सस्तोमै उठाउने योजनाअनुसार अहिले बजारमा विभिन्न समूहहरुले चलखेल गरिरहेका देखिएको छ । यो यस्तो समूह हो, जसले बेला बेला बजार तथा कुनै निश्चित कम्पनीको सेयरमा कृत्रिम माग सिर्जना गर्न सेयर कर्नरिङदेखि इन्साइडर टे«ेडिङका अन्य टेक्निक्सहरुको समेत खुलेआम प्रयोग गर्दै आइरहेको छ । यही गिरोहले अहिले कारणबिना विभिन्न नाम र बाहानामा बजार घटाउने खेल खेलिरहेका स्रोतहरु दाबी गर्छन् । 

'यस्तो खेलमा केही ब्रोकर, ठूलो परिमाणामा लगानी गर्ने केही व्यक्ति लगायतको संलग्नता देखिन्छ ।' स्रोत भन्छ-'बाली उठाउने यति महत्वपूर्ण बेलामा घोषणा हुनसक्ने आकर्षक लाभांश छाडेर हौवाको पछि जो कुद्छ, ऊ पछुताउँछ ।' 

नेपालको सेयरमा बजारमा विगत लामो समयदेखि कागले कान लग्यो भन्दैमा कान नछामी कुद्ने प्रवृति हाबी छ । लगानीकर्ता पनि यस्तै हौवाको पछि दगुर्छन, परिणाम मुखैमा आएको बाली कौडीको भाउमा अरुलाई जिम्मा लगाएर आफू हिस्स बन्नुपर्ने अवस्था आउँछ । पछिल्लो केही दिन बजारमा यस्तै अवस्था देखिएको छ । 

साउन त्यसै पनि सेयर बजारका लागि गुल्जार समय मानिन्छ । सूचिकृत कम्पनीका आकर्षक वित्तीय विवरण आइरहेको, असार मसान्तको बेला सरकारले गरेको खर्चका कारण तरलताको अवस्था सहज भएको बेला र मौद्रिक नीतिबाट समेत बजारमा दुरगामी प्रभाव पार्ने ठूला नीतिगत व्यवस्था नभएको सन्दर्भ र विगतका मौद्रिक नीतिबाट बजारका धेरै इस्यू सम्बोधन भइसकेको अवस्थामा यो वा त्यो बाहाना गरेर बजारमा त्रास फैलाइएको छ । तर, धरातलमा बजार घट्नुपर्ने वा लगानीकर्ताले यही बेला सेयर सस्तोमै सल्टाएर मैदान खालि गर्नुपर्ने कुनै गतिलो कारण देखिन्न । 

हौवा पिटाएर बजारमा गिरावट
संगठित गिरोहले सुनियोजित रुपमा पिटाइरहेका हल्लाकै कारण आइतबार पनि सेयर बजार परिसूचक दोहोरो अंकले घट्न पुग्यो । यो दिन नेप्से परिसूचक १७.११ अंकले घटेर १२५२.८० को विन्दूमा सीमित हुन पुगेको छ । 

यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स  ३.४३ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३१ अंकको गिरावट आएको छ ।

म्युचुअल फण्ड समूहको सूचक ०.१६ अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । चौथो त्रैमासमा आकर्षक प्रगति गरेका वाणिज्य बैंकहरुले राम्रो लाभांश वितरण गर्नसक्ने संभावना रहे पनि आइतबार भने बैंकिङ समूहकै सूचकमै  १५.९२ अंकले गिरावट आएको छ । 

विकास बैंक समूहमा १५.४९ अंक, वित्त समूहमा १.८३, जीवन बिमा समूहमा १०६.८९, निर्जीवन बिमा समूहमा ९९.६७, होटल समूहमा ९.४९, जलविद्युत समूहमा ११.८५, उत्पादन तथा प्रशोधन समूहमा २४.७२, माइक्रोफाइनान्स समूहमा २७.७ र अन्य समूहमा ७.४४ अंकको गिरावट देखिएको छ । 

यो दिन नेपाल बैंक र कृषि विकास बैंकले ४ करोड भन्दा बढीका दरले कारोबार गरेका छन् । यो दिन धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा छिमेक लघुवित्त, एनआइसी एशिया बैंक, शिवम सिमेन्ट, प्रभू बैंक, अपर तामाकोशी, मेगा बैंक, यूनाइटेड इन्स्योरेन्स र नवील बैंक पर्न सफल भएका छन् । 

सबैभन्दा बढी सिर्जना फाइनान्सका लगानीकर्ताले कमाए भने युनियन हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । सिर्जना फाइनान्सको सेयर मूल्य ९.७२ प्रतिशतले बढ्यो भने युनियनको सेयर मूल्य ८.२३ प्रतिशतले घट्यो ।