काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्नका लागि अहिले अधिकांश देश लकडाउनमा छन्।

लकडाउनका कारण बाहिर निस्किन नपाउँदा मानिसहरु घरभित्रै थुनिएका छन्। जसका कारण हिजोआज खानादेखि नानासम्म अनलाइन अर्डर गर्ने क्रम बढेको छ। 

यस्तै अनलाइन पिज्जा अर्डर गर्दा भारतमा ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको छ। 

घटना हो भारतको राजधानी नयाँदिल्लीको। त्यहाँ पिज्जा डेलिभरी गर्ने एक युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि ७० जना मानिसलाई अहिले क्वारेन्टाइनमा राखिएको छ। 

इन्डियन एक्सप्रेसका अनुसार क्वारेन्टाइनमा राखिएकाहरुको कोरोना टेस्ट भने गरिएको छैन। ‘ती युवकको सम्पर्कमा आएका सबै पिज्जा अर्डर गर्ने ग्राहकहरु छन्, उनीहरु सबैलाई अहिले होम क्वारेन्टाइनमा राखिएको छ’, दिल्लीका स्वास्थ्य अधिकारीहरुले भनेका छन्, ‘यदि तीमध्ये कसैलाई कारोनाको लक्षण देखिएमा सबैको टेस्ट गरिनेछ।’

भारतमा मे ३ सम्म लकडाउन जारी गरिएको छ। लकडाउनमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाइए पनि खाना, रासन र अन्य अत्यावश्यक वस्तुको होम डेलिभरीमा भने प्रतिबन्ध लगाइएको छैन।