काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सेयर कारोबार आज आइतबार खुलेको छ। 

आज आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुलेको हो। आज यो कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८४.१० रुपैयाँमा किनबेच भएको छ। 

पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ९४.९६ रुपैयाँदेखि अधिकतममा २८४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोेकेको थियो। नेप्सेले यो कम्पनीलाई पीपीएल कारोबार संकेत प्रदान गरेको छ।

गत शुक्रबारमा नेप्सेमा यो कम्पनीको कुल ६३ लाख २६ हजार कित्ता आईपीओ सूचीकृत भएको थियो। जसमा ३२ लाख २६ हजार कित्ता संस्थापक समूहको, २४ लाख ६७ हजार ४०० कित्ता सर्वसाधारणको र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयको रहेको छ। 

पिपुल्स पावरको गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड भने भदौ १२ गते गरिएको थियो। 

पिपुल्स पावरकोे आईपीओ प्रभु क्यापिटल लिमिटेडमार्फत बिक्री खुल्ला भएको थियो। 

यसैबीच सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर भने आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार खुलेन। 

सयपत्री हाइड्रोपावरको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। 

नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। तर, नेप्सेले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच नभएका कारण नियमित समयका लागि खुल्न नसकेको हो। 

नेप्सेमा यो कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन्। 

यो कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो।