काठमाण्डौ । सरकारले आज संसद्मा आर्थिक श्वेतपत्र जारी गरेको छ। श्वेतपत्रमा पुँजी बजारलाई पनि प्राथमिकतामा राखेको छ। 

सरकारका अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराएका हुन्। उनले १८ पृष्ठ लामो आर्थिश श्वेतपत्र संसदसमक्ष प्रस्तुत गरेका थिए।

पुँजी बजारप्रतिशत अर्थमन्त्री शर्मा सकारात्मक देखिएका छन्। उनले लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन तथा अनुगमनलाई थप प्रभावकारी बनाउन श्वेतपत्रमार्फत जोड दिएका छन्। ‘पुँजी बजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जबाफदेही बनाउनुपर्छ’, श्वेतपत्रको बुँदा ३८ मा उल्लेख छ। 

पुँजी बजारमा स्वचालित प्रणाली प्रवर्द्धन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउँदै लैजानुपर्नेमा श्वेतपत्रमा जोड दिइएको छ। ‘लगानीकर्ताको हित संरक्षण गरी स्वस्थ बजार प्रणाली विकास गर्दै लानुपर्ने आवश्यकता पनि देखिन्छ’, श्वेतपत्रमा भनिएको छ।

वि.स.२०७६ असार मसान्तमा १२५९.० विन्दुमा पुगेको नेप्से परिसूचक वि.स. २०७७ असार मसान्तमा १३६२.४ विन्दु कायम रहेको थियो । वि.स.२०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ विन्दु कायम भएको छ। 

यसरी पछिल्लो एक वर्षमा नेप्से सूचकाङ्क दुई गुणा भन्दा बढीले वृद्धि भएको छ। पुँजी बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश एवम् वित्तीय स्रोतको सहज उपलब्धता लगायतका कारण नेप्से सूचकाङ्कमा तीब्र वृद्धि भएको सरकारले बताएको छ।

वि.स. २०७७ असार मसान्तमा बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.८ प्रतिशत रहेकोमा वि.स.२०७८ जेठ मसान्तमा उक्त अनुपात ९८.८ प्रतिशत कायम भएको छ ।