काठमाण्डौ । नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि १ अर्ब २८ करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।

यो कम्पनीले चुक्तापूँजी ८ अर्ब पुर्याउने योजना अनुसारमा त्यसको १५ प्रतिशत सर्वसाधारणका लागि र बाँकी १ प्रतिशत कर्मचारीका लागि गरी कुल १६ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड बराबरको आइपीओ निश्कासन गर्न चाहेको हो ।  

यसअघि कम्पनीले संस्थागत सेयरधनीहरुलाई हाल कायम ५ अर्ब चुक्तापूँजीबाट ८ अर्ब पुर्याउनका लागि १ अर्ब ७२ करोड बराबरको पूँजी थप्ने प्रतिबद्धता मागेको छ । संस्थापकले सो बराबरको प्रतिबद्धता व्यक्त भएलगत्तै सर्वसाधारणका लागि आइपीओ निश्कासनको प्रक्रियाले गति पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारीले बिजशालालाई जानकारी दिए । 

‘हामीले चुक्तापूँजी ८ अर्ब पुर्याउने योजना अनुसार संस्थापक सेयरधनीबाट त्यसका आवश्यक पूँजी थपको कमिटमेन्ट मागेका छौ ।’ उनले भने–‘सबै संस्थापकबाट कमिटमेन्ट आएपछि सर्वसाधारणका लागि आइपीओ निश्कासनको प्रक्रियाले गति पाउनेछ ।’ 

यो कम्पनीले कति चाँडो आइपीओ निश्कासन गर्छ भन्ने कुरा नेपाल सरकारमा निर्भर रहेको देखिन्छ । कारण, यो कम्पनीमा नेपाल सरकारको सेयर स्वामित्व सबैभन्दा बढी छ । हाल कम्पनीमा नेपाल सरकारको ४३.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी विभिन्न कम्पनी तथा संघसंस्थाको लगानी रहेको छ । यसरी हेर्दा नेपाल सरकारले ८ अर्ब पूँजी पुर्याउनका लागि कम्पनीलाई जति छिटो कमिटमेन्ट दिन्छ, उति छिटो सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने कामले गति पाउने बताइएको छ ।

आइपीओपछि कम्पनीमा संस्थापक: सर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ८४ः१६ हुनेछ । 

आफ्नो आइपीओप्रति सर्वसाधारणलाई आकर्षित बनाउन कम्पनीले ८ अर्ब पूँजी पुगेपछि १ अर्ब बराबरको बोनस सेयर समेत वितरण गर्ने घोषणा समेत गरेको छ । कम्पनीले बेस रेटमै आइपीओ निश्कासनको तयारी गरिरहेको हो ।