– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालमा अहिले ५० वटा धितोपत्र दलाल व्यवसायी अर्थात् ब्रोकर सञ्चालनमा छन्। सञ्चालनमा रहेका ब्रोकरबजार विकास र विस्तारका लागि पर्याप्त नभएको लगानीकर्ता, नियामकका साथै अन्य सरोकारवालाहरुले गुनासो राख्दै आएका छन्। अधिकांश लगानीकर्ता संघसंठनका अगुवाका साथै लगानीकर्ताको सञ्चालनमा भएका ब्रोकरहरुले दिँदै आएको सेवासुविधाबाट असन्तुष्टि राख्दै आएका छन्। त्यसैले लगानीकर्ताले बेलाबखतमा ब्रोकर संख्या थप्नुका साथै बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन्। 

अर्थ मन्त्रालयनिकट कर्मचारीहरुका अनुसार नयाँ ब्रोकर लाइसेन्स वितरणका साथै नयाँ स्टक एक्सचेन्ज सञ्चालनबारे अर्थमन्त्री जनार्दन शर्माको पनि चासोको विषय बनेको छ। सेयर बजार नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ नेतृत्व आएसँगै नयाँ ब्रोकर लाइसेन्स वितरणको विषय झनै चर्किएको छ।

नेप्सेको कार्यविधि परिवर्तन गरी लिखित परीक्षा विना नै सीधै अन्तर्वार्तामार्फत नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तयारी अघि बढाएको समाचार केही मिडियामा सम्प्रेषण भएसँगै उक्त विषय लगानीकर्ता, ब्रोकर, नियामकका साथै अन्य सरोकारवालाबीच चर्चा र बहसको विषय बनेको छ। अधिकांश सरोकारवालाले नयाँ लाइसेन्स वितरण गर्दा परीक्षा बिना नै कसैको अनुहारमात्र हेरेर दिन नमिल्ने अडान राख्दै आएका छन्।

नेप्सेको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकमा पनि नेप्सेले कार्यविधि परिवर्तन गरी नयाँ ब्रोकर लाइसेन्स वितरणबारे छलफल भएको छ। ‘कार्यविधि परिवर्तन गरी नयाँ ब्रोकर लाइसेन्स वितरणबारे मिडियामा आएको समाचारबारे हिजो बसेको सञ्चालक समिति बैठकमा केही सदस्यले प्रश्न गर्नु भएको थियो’, बैठकमा सहभागी नेप्से सञ्चालक समितिका एक सदस्यले बिजशालासँग भने, ‘मिडियामा नयाँ ब्रोकर लाइसेन्स वितरणको विषय चर्किएसँगै लाइसेन्सकै कारण नियामक निकाय साथै नियामक निकायको नेतृत्वहरु विवादित हुने सम्भावना उच्च भएर गएको छ। त्यसैले उक्त विषयमा अधिकांश सदस्यको नयाँ ब्रोकर लाइसेन्स वितरण गर्दा कार्यविधि परिवर्तन नगरी पुरानै २०६४ सालको कार्यविधिअनुरुप नै वितरण गर्नुपर्ने राय राख्नु भएको छ।’