काठमाण्डौ । पुवा खोला–वान हाइड्रोपावर लिमीटेडले साधारण सेयरको प्राथमिक निश्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ । 

यो जलविद्युत  कम्पनीले आफ्नो छैठौं वार्षिक साधारणसभा पुस २६ गते काठमाण्डौको अनामनगरस्थित कम्पनीको कार्यालयमा आह्वान गर्दै प्रारम्भिक सेयर निश्कासनको अजेण्डा समेत सार्वजनिक गरेको हो । 

सभामा प्रारम्भिक सेयर निश्कासन गर्दा सर्वसाधारणका लागि बिक्री गरिने सेयर र संस्थापक सेयरको अनुपातलाई फेरबदल गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने विषय समेत अजेण्डाको रुपमा रहेको छ । 

सभामा कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने तथा सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने, कम्पनीको जगेडा सेयर खरीदका लागि  स्वीकृति प्रदान गरी  सेयर लागत कायम गर्ने, हालको सञ्चालक समिति फेरबदल गर्ने, स्वतन्त्र सञ्चालकको मनोनयन गर्ने, कम्पनीका डाइरेक्टर एड्भान्सको रुपमा रहेको रकमलाई कम्पनीको सेयरमा कायम गर्ने र सोको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने लगायतका अजेण्डा समेत पेश हुनेछन् । 

आयु मलुन खोला जलविद्युत आयोजना(२१ मेगावाट)को निर्माण कार्य सुरु गर्न आवश्यक पर्ने रकम, प्रमोटर सेयर, सेयर निश्कासन सम्बन्धी विविध कार्यहरु, जग्गा अधिकरण, निर्माण कम्पनी छनौट तथा अन्य सरकारी र गैरसरकारी निकायमा गई आवश्यक काम कार्यबाही गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषयलाई पनि सभाको अजेण्डा बनाइएको छ ।