काठमाण्डौ । सेयर बजारले लयमा फर्किने कोशिश जारी राखेको छ । पुस मसान्तको ब्याजको दवाब सकिएलगत्तै बजार लयमा फर्किने कोशिशमा देखिएको छ ।  

बजार लयमा फर्किन खोजे पनि पुसमा तिर्नुपर्ने करको ठूलो रकमका कारण बैंकहरुमा तरलता टाइट हुनसक्ने भयले कतिपय लगानीकर्तालाई पर्ख र हेरको रणनीतिमा सीमित गरिदिएको छ । 

बजारमा थोरै भए पनि निरन्तर बढिरहेको कारोबार रकमले नेप्से लयमा फर्किदै गरेको बुझ्न सकिन्छ । 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १.४८ अंकले बढेर ११८०.८४ को विन्दूमा पुगेको छ । 

यो दिन सेन्सेटिभ इण्डेक्स ०.३९ र फ्लट इण्डेक्स ०.१४ अंकले बढे । 

चार समूहको सूचक ओरालो लागे भने बाँकी ७ समूहको सूचक उक्लिए ।

बैंकिङ समूह १.५८ अंकले बढेको यो दिन व्यापार समूह २.५३ अंक, बित्त समूह २.५२ अंक, निर्जीवन बिमा समूह २२.१७ अंक, माइक्रोफाइनान्स समूह ५.७ अंक, जीवन बिमा समूह ५.९६ अंक र अन्य समूह १.१९ अंकले बढे ।

होटल समूहमा १.७८ अंकको गिरावट आएको यो दिन विकास बैंक समूह ६.६ अंक, जलविद्युत समूह २.३५ अंक र उत्पादनमूलक समूह ५.८२ अंकले घटे ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका १३ लाख ८७ हजार ५ सय ९२ कित्ता सेयर ३६ करोड ६३ लाख २४ हजार १ सय ६४ रुपैयाँमा किनबेच भए । 

सबैभन्दा बढी ११ करोड ६३ लाख बढीको नेपाल बैंकको सेयर कारोबार भयो । 

कुमारी बैंकले १ करोड ८७ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २६ लाख, नेशनल हाइड्रोपावर कम्पनीले १ करोड २० लाख, बैंक अफ काठमाण्डूले १ करोड १४ लाख, एनआइसी एशियाले १ करोड १० लाख बढीको कारोबार गरेका छन् ।

प्राइम कमर्सियल बैंकको ९९ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन एनसीसी बैंकले ८४ लाख, स्ट्याण्डर्ड चार्टर्डले ७३ लाख र छिमेक लघुवित्तले ७२ लाख बढीको सेयर कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सानिमा इक्वीटी फण्डका इकाईधनीले कुस्त कमाए । यो स्किमको इकाई मूल्य १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडका लगानीकर्ताले यो दिन धेरै गुमाए । कम्पनीको सेयरमूल्य ५.१० प्रतिशतले घट्यो ।