काठमाण्डौ । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ। 

भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ। बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ।

उक्त विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएकाले अब कम भिजिबिलिटीमा पनि उडान भर्न सकिनेछ। यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्याउन र्याम्प बस राखेको छ। 

यात्रु जहाज र टर्मिनल भवन आउजाउ गर्न र्याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुध्द एयरका लागि जाँच काउण्टर नं ३, ४ र ५ तोकिएको छ। सामानको तौल तथा सुरक्षा जाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई प्रवेश गर्न बुद्ध एयरले अनुरोध गरेको छ।

नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुले टिकटमा उल्लेख गरिएको समयभन्दा दुई घन्टा अगाडि विमानस्थल पुगेर जाँच गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ। बुद्धले पोखरा विमानस्थलबाट काठमाडौँ जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लैजाने जनाएको छ। 

नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान पनि गरिनेछ।

अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयरले पोखराबाट भारतको वाराणसी पनि उडान भर्ने योजना बनाएको छ। बुद्ध एयरसँग ११ एटीआर–७२, तीन एटीआर–४२ जहाज रहेका छन्। निकट भविष्यमै बुद्ध एयरले थप तीन एटीआर–७२ जहाज भित्र्याउन लागेको छ।

- RSS