काठमाण्डौ । साताको पहिलो दिनदेखि नै घट्न थालेको पूँजीबजारमा दोश्रो दिन सोमबार पनि दोहोरो अंक नजिकको गिरावट देखियो । 

अघिल्लो साता बजारलाई माथि उठाउन प्रमुख योगदान दिने बिमा र बैकिंग समूहको नेप्से परिसूचकमा गिरावट आएसँगै समग्र बजारमा समेत त्यसको असर देखिएको हो । सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ९.८७ अंकले तल झर्दै १४६७.५१ अंकमा आइपुगेको छ । 

सोमबार विकास बैंक समूहको परिसूचक बाहेक अन्य सबै समूहको परिसूचकमा रातो पोतियो । विकास बैंक समूह चाहि १.६४ अंकले उक्लियो । 

सबैभन्दा बढी बिमा समूहको सूचक १०४.७७ अंकले तल झर्यो । अन्य समूहले १५.२७ अंकको गिरावट व्यहोर्दा होटल समूहको सूचक पनि १२.८३ अंकले ओरालो लाग्यो । जलविद्युत समूह, बित्त समूह र वाणिज्य बैंक समूहको बजार परिसूचक क्रमशः ९.५४, ८.८७ र ६.६७ अंकले तल झर्यो । 

सोमबार १ सय ३५ कम्पनीका १३ लाख ३८ हजार कित्ता शेयर ६६ करोड ९५ लाख रुपैयाँमा किनबेच भयो । बजारको सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स पनि क्रमशः २.२३ र ०.५४ अंकले ओर्लियो । 

समग्र बजार दोहोरो अंकले उराठ बन्दा पनि प्रभू इन्स्योरेन्स कम्पनीको ५ करोड ८९ लाख मूल्यका शेयर किनबेच भए । सानिमा बैंकको ३ करोड ३८ लाखको शेयर कारोबार हुँदा नेपाल बैंक लिमीटेडको २ करोड ८६ लाख मूल्यको शेयर किनबेच भयो । सिटिजन्स बैंक पनि धेरै शेयर कारोबार गर्ने कम्पनीको सूचिमा टप ५ मा पर्न सफल भयो । 

सोमबार काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमीटेड, ओमी फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताले बजारमा मन्दी आउँदा समेत सम्पत्ति बढाए भने रिलायन्स लोटस, लाइफ इन्स्योरेन्स कर्पोरेसन र लुम्बिनी फाइनान्सका लगानीकर्ताले धेरै गुमाए ।