काठमाण्डौ । भारत सरकारले भारु १००० र ५०० रुपैयाँका पुराना नोटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा रहेको करोडौं रुपैयाँ भारु कसरी साट्ने भन्ने अन्यौल यथावत छ । नेपाल राष्ट्रबैंक र सरकारी तवरबाट समेत नेपालमा रहेको भारुको व्यवस्थापनका लागि भारतका सम्बन्धित निकाय तथा सरकारसँग समन्वयको काम अझै निश्कर्षमा पुग्न सकेको छैन । यसको अर्थ नेपालमा रहेको भारुको बिषयमा अझै पनि ठोस निर्णय आउन सकेको छैन । भारतीय पक्षबाट स्पष्ट कुरा नआएकै कारण भारु हुनेहरु अलमलमा परेका छन् । केही सातामै साथमा रहेको भारु १००० र ५०० को नोट काम नलाग्ने हुने भएका कारण सर्वसाधारण थोरै घाटा व्यहोरेर समेत भारु सटही गर्न तयार छन् । सर्वसाधारण, भारु चलाइरहने व्यापारीहरुको यही बाध्यतालाई बुुझेको गिरोहको पूर्वी नेपालमा भारु सटहीको धन्दा संचालन गरिरहेको पाइएको छ ।

भारतको नेपालीभाषीहरुको बस्ती रहेको क्षेत्रका भारतीय गिरोहहरुसँग साँठगाँठ गरी नेपालमा यस्तो गिरोहले भारु १ हजार र ५ सयका पुराना नोट संकलन गर्ने र भारतसम्म पुर्याउने धन्दा संचालन गरिरहेको स्थलगत रिपोर्टिङको क्रममा फेला परेको हो।

पूर्वी नेपालका विभिन्न क्षेत्रका नेपालीहरुको साथमा रहेको भारु १ हजार र ५ सय रुपैयाँ मोटो कमिसन लिएर संकलन गर्ने काम भइरहेको छ । भारतमा एकपटकमा ५० हजारसम्म भारु लिएर जाने पाइने भन्दै सो गिरोहले १ हजार भारुको १२ सय रुपैयाँसम्म नेपाली रुपैयाँ दिने भन्दै नोट संकलन गरिरहेको पाइएको हो । नेपाल राष्ट्रबैंकले भारु सटहीको व्यवस्था देशमै भरपर्दो ढंगले मिलाउन नसक्दा सर्वसाधारणले भारु सटहीको नाममै लाखौ घाटा व्यहोर्नुपर्ने अवस्था देखिएको छ । गिरोहहरुको भर पर्दा आफूसँग भएको भारु दिएर पनि ठगिइनुपर्ने र अन्तिममा एक पैसा पनि नपाउने जोखिम समेत देखिएको जानकारहरु बताउँछन् ।

कतिपय स्थानमा सक्रिय गिरोहहरुले १ हजार भारु सटही गर्दा ११ सय नेपाली रकम हातमै दिने भन्दै राम्रो धन्दा संचालन गरेका पाइएको छ ।

'नेपाल राष्टबैंकको सुस्त समन्वयको फाइदा मुठ्ठीभरका गिरोहहरुले उठाइरहेका छन् ।' झापाको काँकडभिट्टाका एक सर्वसाधारणले भने-'यसले हामीजस्तालाई चाहि घाटा भइरहेको छ । १६ सय रुपैयाँ पाउनुपर्ने ठाउँमा १ हजार भारु दिएर १२ सयमै चित्त बुुझाउनुपर्ने अवस्था छ।'

भारुको सटही धन्दामा संलग्न एक व्यक्तिका अनुसार भारतको आसाममा अहिले नेपालबाट संकलन भएको भारु विभिन्न नाममा निर्यात भइरहेकोछ । एकजनाले ५० हजारसम्म बोक्न पाइन्छ भनिएपछि आसाममा आफन्त रहेका धेरैको धन्दा नै अहिले नेपालमा सस्तोमा भारु खरीद गरी लाने भएको छ । नेपालमा रहेको अबैध भारु समेत यसैगरी भारुतर्फ निकासी भइरहेको स्रोतहरुले बताएका छन् । यसबाट नेपाललाई घाटा नभए पनि सर्वसाधारणसँग भएको भारुको सटहीको स्पष्ट व्यवस्था नहुँदा चाहि उनीहरुसँग भएको पैसा घट्ने समस्या देखिएको हो ।

सर्वसाधारणहरुले आफूूहरुसँग भएको १ हजार र ५ सय भारुको पुरानो नोट वास्तविक विनिमय दरमै नेपालमै सटही गर्ने व्यवस्था तत्काल मिलाइदिन सरकारलाई आग्रह गरेका छन् । भारतसँगको वास्तविक विनिमय दर अनुसार १ हजार भारु साट्दा नेपाली रुपैयाँ १ हजार ६ सय पाउनुपर्नेहु्न्छ ।