काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भोल्युम प्याकको नवीकरण गर्न नसकेकै कारण कुनै पनि सेवाग्राहीको इन्टरनेट लाइन काट्न नपाउने भएका छन् । 

नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई शुक्रबार यस्तो निर्देशन दिएको हो । 

एनटिएले लकडाउन अवधिभर महसुल भुक्तानी नभए पनि कसैको सेवा बन्द नगर्न निर्देशन दिएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिएका छन् । 

प्राधिकरणले हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नुपर्ने बताउँदै केही सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको गुनासो प्राप्त भएको उल्लेख गर्दै यस्तो निर्देशन जारी गर्नुपरेको प्रष्ट्याएको छ । 

तर, एनटीएले ती सेवा प्रदायकहरुलाई सम्भव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न भनेको छ । तर अनलाइन माध्यमबाट भुक्तानी गर्ने व्यवस्था भए पनि भुक्तानी गर्न असमर्थ भएका ग्राहकहरुको हकमा इन्टरनेट सेवा लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने व्यवस्था गर्न समेत प्राधिकरणले भनेको हो ।

लकडाउनपछि त्यस्तो शुल्क भुक्तानी गर्दा कुनै विलम्ब शुल्क लिन पाइने छैन । 

त्यस्तो निर्देशन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट, इमेल सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकका लागि भएको समेत प्राधिकरणले स्पष्ट पारेको छ । यद्यपि, यसले मोबाइल सेवा प्रदायकले दिने डाटा इन्टरनेट सेवालाई भने आकर्षित गर्दैन ।