काठमाण्डौ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो। उनलाई गत जेठ २३ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। 

ती व्यक्ति गत जेठ २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए। नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उनको उद्धार गरेको थियो। 

स्वास्थ्य मन्त्रालयका अनुसार भने हिजो आइतबारसम्म नेपालमा कोरोनाबाट ३ हजार ४४८ जना संक्रमित भएका छन्। तीमध्ये १३ जनाको मृत्यु भइसकेको छ भने ४६७ जना निको भएर घर फर्किसकेका छन्। 

स्याङ्जाका यी व्यक्तिको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।