काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममै समावेश भइसकेको दोश्रो बजारमा सेयर खरीद गर्दा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य लिनुपर्ने विषयको बेमौसमी हौवा फैलिएपछि बजारमा नकारात्मक प्रभाव परेको छ ।
प्यान नम्बर लिएर कारोबार गर्नु सामान्य विषय भए पनि यसलाई बजार विकासको बाधकको रुपमा कतिपय लगानीकर्ताका संघसंगठनले प्रस्तुत गरी लगानीकर्तामा आतंक सिर्जना गरेका कारण यसको प्रतिबिम्ब आइतबारको बजारमा झल्किएको एक बजार विज्ञको आरोप छ ।
‘प्यान नम्बर लिने विषय कुनै नौलो होइन र यो त्रसित हुनुपर्ने कुरा पनि होइन ।’ ती विज्ञले भने–‘प्यानको बिषयलाई अनावश्यक रुपमा हौवा फिजाएर बजारमा खेल्ने काम भएको छ, लगानीकर्ता यस्ता चलखेलदेखि सचेत बन्नुपर्छ ।’
प्यानकै हौवाका कारण आइतबार नेप्से परिसूचक १०.६८ अंकले घटी ११६२.०९ को विन्दूमा सीमित भएको छ । यो दिन राम्रा कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.०६ ले घट्यो भने समग्र कारोबार मापक फ्लट इण्डेक्समा ०.७९ अंकको गिरावट आयो ।
यो दिन बजारका सबै सूचकमा रातो पोतियो ।
बैंकिंग समूह ८.३९ अंकले घटेको यो दिन विकास बैंक समूहमा १०.०३ अंक, माइक्रोफाइनान्स समूहमा १२.६९ अंक, जीवन बिमा समूहमा ६९.९३ अंक, निर्जीवन बिमा समूह ९३.७५ अंक, जलविद्युत समूह १६.४१ अंक, होटल समूह १२.५२ अंक, बित्त समूह १.८ अंक, उत्पादनमूलक २१.६४ अंक र अन्य समूह ४.४६ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६४ कम्पनीका ११ लाख ८५ हजार ८ सय ७२ कित्ता सेयर ३४ करोड ३ लाख ७१ हजार १ सय २७ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी अपर तामाकोशीको ३ करोड २४ लाख बढीको सेयर किनबेच भयो । नेपाल बैंक लिमीटेडले १ करोड ६० लाख बढीको कारोबार गरेको यो दिन जनता बैंक नेपालको १ करोड ४३ लाख बढीको संस्थापक सेयर किनबेच भयो ।
नागरिक लगानीकोषले १ करोड १५ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशिया बैंकले १ करोड ६ लाख, एनएमबी बैंकले १ करोड २ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ९८ लाख, सिद्धार्थ बैंकले ९७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९४ लाख र लक्ष्मी बैंकले ८७ लाख बढीको कारोबार गरेको छ ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन समता माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो ।
छ्याङ्दी हाइड्रोपावर लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ६.५४ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19