काठमाण्डौ । धितोपत्र बोर्डको निर्देशन अनुसार दोश्रो बजारमा सेयर कारोबार गर्दा स्थायी लेखानम्बर(प्यान) लिनुपर्ने विषयलाई कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज तातेको छ । 

निकै लामो समय बजारको हटकेक बनेको प्यान नम्बरको विषयमा गत साता धितोपत्र बोर्डले प्रष्ट पारेको थियो । बोर्डले एकपटकमा ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्दा मात्र प्यान नम्बर अनिवार्य लिनुपर्ने र एकपटकमा ५ लाख भन्दा कमको कारोबार गर्दा प्यान नम्बर ऐच्छिक हुने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । 

नियामक बोर्डबाट प्राप्त निर्देशन अनुसार बैशाख १ गतेदेखि प्यान नम्बरको व्यवस्था लागू गर्नुपर्ने भएकोले नेप्से तातेको हो । 

नेप्सेले सबै सदस्य दलाल(ब्रोकर)हरुलाई एक पत्र लेख्दै बोर्डले गरेको व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । 

अनलाइन लगइन युजर्स लिने, तर स्थायी लेखा नम्बर पेश नगर्ने ग्राहकका हकमा एकपटकमा ५ लाख रुपैयाँ वा सो भन्दा बढी रकमको कारोबार गर्न अनिवार्य स्थायी लेखानम्बर पेश गर्नुपर्ने व्यवस्थाको सम्बन्धमा बेलैमा जानकारी गराइदिन समेत नेप्सेले ब्रोकरहरुलाई आग्रह गरेको छ । 

बोर्डले गरेको प्याननम्बर सम्बन्धी यस्तो व्यवस्थाले साना लगानीकर्ता लाभान्वित हुने दाबी गरिएको छ । तर, एकपटकमा ५ लाख भन्दा कमको कारोबार गर्दा प्यान नम्बर लिनु नपर्ने हुँदा कतिपय ठूला लगानीकर्ताले पनि दिनमा कैयौ पटक कारोबार प्यान नम्बर नलिई नै गर्नसक्ने अवस्था समेत देखिएको छ । 

यसले प्यान सम्बन्धी व्यवस्था कार्यान्वयनको सान्दर्भिकता र औचित्यतामाथि प्रश्न उठ्नसक्ने वातावरण बन्नेछ । 

बोर्डले आफैंले गरेको प्यान सम्बन्धी व्यवस्था सुरुमा अन्यौलपूर्ण थियो । तर, पहिलाको अन्यौललाई चिर्दै बोर्डले दोश्रो पटक विज्ञप्ति जारी गरी एकपटकमा ५ लाख भन्दा कमको सेयर कारोबार गर्दा प्यान नम्बर नचाहिने प्रष्ट पारेको थियो ।